सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा रगत संकलन उत्साहजनक

बाँकेमा गत आर्थिक वर्ष २०७९/०८० मा १३ हजार युनिटभन्दा बढी रगत संकलन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँकेले गत आर्थिक वर्षमा उक्त मात्राको रगत संकलन गरेको रक्तसञ्चार सेवा केन्द्रका लुम्बिनी प्रादेशिक प्रमुख तथा रक्तसञ्चार सेवा व्यवस्थापन समिति बाँकेका सदस्य सचिव उपेन्द्र रेग्मीले जानकारी दिए ।

प्रमुख रेग्मीले नेपालगञ्जमा रक्तसञ्चार सेवा केन्द्र बाँकेको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो जानकारी दिएका हुन् । रेग्मीका अनुसार नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्ज र कोहलपुर दुई स्थानमा गरी गत वर्ष १३ हजार तीन सय ७४ युनिट रगत संकलन भएको हो ।

जिल्लामा १५ हजार युनिट रगत संकलन गर्ने लक्ष्य रहे पनि १३ हजार ३ सय ७४ युनिट रगत संकलन भएको रक्तसञ्चार सेवा व्यवस्थापन समितिका सदस्य आलम खानले जानकारी दिए ।

गत वर्ष १६ हजार ५ सय युनिट रगत वितरण गर्ने लक्ष्य रहेकोमा १८ हजार ७ सय ५७ युनिट रगत वितरण गरिएको र त्यसबाट १७ हजार ९ सय १५ जना लाभान्वित भएको उनले बताए ।

त्यसै गरी विभिन्न एक सय घुम्ती शिविर मार्फत ६ हजार ५ सय जना रक्तदातासँग रगत सङ्कलन गर्ने लक्ष्य रहेकोमा एक सय २४ घुम्ती शिविरमार्फत ५ हजार ९ सय २८ जना रक्तदाताले रगत दान गरेको सदस्य खानले जानकारी दिए ।

गत वर्ष रक्तसञ्चार सेवा केन्द्रले १३ हजार ३ सय ७४ युनिट रगतमा जीवाणु परीक्षण गरेको र २९ हजार ५ सय ७९ युनिट रगतमा रक्त समूह परीक्षण गरेको रक्तसञ्चार सेवा केन्द्रले जनाएको छ ।

सेवा केन्द्रले विभिन्न समयमा रक्तदान, रक्तदाता सम्मान कार्यक्रम तथा रक्तदातालाई रगत दान गर्नका निमित्त उत्प्रेरणाका कार्यक्रमहरू गर्दै आएको प्रादेशिक प्रमुख रेग्मीले बताए ।

नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट गरी दुई स्थानबाट रक्तसञ्चार सेवा केन्द्रले रगत संकलन तथा वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १८:२९