सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीमा ‘लम्पी स्किन’बाट एक लाख अठार हजार पशु सङ्क्रमित

पशुहरूमा लाग्ने ‘लम्पी स्किन’ (काप्रिपक्स भाइरस) रोगले लुम्बिनी प्रदेशमा भयावह रूप लिएको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका यो रोग लागेर पशु मर्ने क्रम रोकिएको छैन । लुम्बिनी प्रदेशका १२ जिल्लामा बुधबारसम्म यो रोगबाट एक लाख १८ हजार ३५१ पशु सङ्क्रमित भएका छन् ।

लुम्बिनी प्रदेश सरकार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको कार्यालयका अनुसार सङ्क्रमित पशुमध्ये ७९ हजार ६०८ पशुलाई उपचार गरिएको छ । तीमध्ये २४ हजार १०४ पशु निको भएका छन् भने अन्य निको हुने क्रममा छन् । पशुलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाएर उपचार जारी राखिएको छ ।

गत तीन महिना अघिदेखि लुम्बिनी प्रदेशका जिल्लामा यो रोगको प्रकोप देखिएको हो । निर्देशनालयका सूचना अधिकृत रिमबहादुर थापाले दिएको जानकारी अनुसार बुधबारसम्म सङ्क्रमित पशुमध्ये पाँच हजार ११४ पशु मरिसकेका छन् । कुल ३९ हजार ५१८ पशुलाई खोप लगाइसकिएको थापाले जानकारी दिए ।

थापाले भने, ‘खोप लगाइएका पशुमध्ये करिब आधाभन्दा धेरै पशु निको भइसकेका छन्, अन्य बिरामी पनि निको हुन क्रममा छन् ।’ भौगोलिक अवस्थाका कारण रुकुम, रोल्पा, प्युठान लगायतका केही जिल्लामा पशुको उपचारमा केही असहज भएको थापाले उल्लेख गरे । निर्देशनालयका निर्देशक डा.परेवज आलमले प्रदेशका सबै जिल्लामा खोप तथा प्राविधिक जनशक्ति परिचालन गरेर सङ्क्रमित पशुहरूको उपचार जारी रहेको उल्लेख गरे ।

तराईको तुलनामा पहाडी जिल्लामा धेरै पशु सङ्क्रमित भएको निर्देशनालयले जनाएको छ । पाल्पामा रोगको नियन्त्रणका लागि पशुलाई खोप लगाउन सुरु गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ । तिनाउ गाउँपालिका–६, मस्यामस्थित विभिन्न पशु फार्मका १०० गाईलाई खोप लगाइएको कार्यालय प्रमुख दुर्गाप्रसाद खनालले जानकारी दिए ।

पाल्पामा गत फागुनदेखि नै ‘लम्पी स्किन’ रोगको प्रकोप देखिएको थियो । अहिले पनि ६०० भन्दा बढी पशु सङ्क्रमित रहेको खनालले बताए । सङ्क्रमित भएका पशुलाई बाहेक अन्य पशुलाई पनि खोप लगाइने उनले जानकारी दिए । दुई हजारसहित अन्य पशुका लागि थप खोपको समेत माग गरिएको विज्ञ केन्द्रले जनाएको छ ।

दुध उत्पादनमा कमी

‘लम्पी स्किन’का कारण पाल्पामा दुध उत्पादनमा समेत प्रभावित बनेको छ । दुध उत्पादनका लागि पालन गरेका पशुमा समेत ‘लम्पी स्किन’ रोगले प्रभाव पारेकाले दुध उत्पादन घटेको डुम्रे दुग्ध सहकारी संस्थाका व्यवस्थापक गोपाल जिसीले बताए । हालसम्म ५०० बढी दुधालु गाई ‘लम्पी स्किन’ बाट प्रभावित बनेको र ३०–४० वटा गाई मरेको उनले बताए ।

‘लम्पी स्किन’ रोग लागेपछि पशुलाई उच्च ज्वरो आउने, छालामा घाउ देखिने, दुब्लाउँदै जाने, गिर्खा देखिने गरेको छ । ‘लम्पी स्किन’ रोगको सङ्क्रमणका कारण गुल्मीमा ३२७ गाईगोरु र पाँच भैँसी मरेका छन् । जिल्लाका १२ वटै स्थानीय तहमा फैलिएको उक्त रोगका कारण जिल्लामा ३२७ गाईगोरु, पाँच भैँसी मरेको र आठ हजार ६०४ पशु सङ्क्रमण भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डा.भरत काफ्लेले जानकारी दिए ।

जिल्लाका १२ वटै स्थानीय तहका पशु सेवा केन्द्रका प्रमुखलाई अभिमुखीकरण तालिम प्रदान गरी ‘लम्पी स्किन’ विरुद्धका लागि भ्याक्सिन लगाउने कार्य अभियानकै रूपमा सञ्चालन गरिएको काफ्लेले बताए । यस्तै कपिलवस्तुमा १२ हजार पशु ‘लम्पी स्किन’ रोगबाट सङ्क्रमित भएका छन् । जिल्लामा लम्पी रोगका कारण ३६० गाईगोरुको मृत्यु भएको छ ।

जिल्लामा भ्याक्सिन लगाउन सुरु गरिएको छ । सबैभन्दा धेरै प्रभावित रहेको वाणगङ्गा नगरपालिकाबाट भ्याक्सिन लगाउन सुरु गरिएको छ । जिल्लामा गत कात्तिक महिनाबाट ‘लम्पी स्किन’ रोग देखा पर्न थालेको विज्ञ केन्द्रले जनाएको छ । पहिलो पटक कपिलवस्तु नगरपालिकामा देखा परेको थियो । त्यसको नौ महिनापछि जिल्लामा खोप लगाउन सुरु भएको छ ।

असारको दोस्रो सातामा सात लाख रकम निकासा भएपछि भ्याक्सिन खरिद भएको थियो । सो रकमबाट दुई हजार छ सय भ्याक्सिन खरिद भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुका प्रमुख विष्णुप्रसाद खनालले बताए । निर्देशनालयका अनुसार सङ्क्रमित हुने पशुहरूको अभिलेख दिनहुँ सङ्कलन गरिने र सोही अनुसार उपचारको व्यवस्था मिलाइने गरिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १६:१६