सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज नाकाबाट इन्धन आयात घट्यो

नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०७९–०८० मा इन्धन आयात घटेको छ । इन्धन आयात घट्दा समग्र भन्सार सङ्कलन पनि घटेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आवमा १५ अर्व ७७ करोड ७५ लाख रुपैयाँ मूल्यको एक लाख ३९ हजार किलोलिटर डिजेल भित्रिएको छ ।

यसबाट पाँच अर्ब ८३ करोड १७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आव २०७८–०७९ मा १७ अर्व ६९ करोड १० लाख मूल्यको एक लाख ७२ हजार २०८ किलो लिटर डिजेल भित्रिएको थियो । जसबापत ६ अर्व ९७ करोड रुपैयाँ राजस्व जम्मा भएको थियो ।

यसैगरी, आर्थिक वर्ष २०७९–०८० मा चार अर्व ६३ करोड रुपैयाँ मूल्यको ४७ हजार ३२२ किलोलिटर पेट्रोल आयात भएको छ । जसबापत दुई अर्व ६९ करोड ९५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । आव २०७८–०७९ मा पाँच अर्व १० करोड रुपैयाँ मूल्यको ५२ हजार ७७६ किलोलिटर पेट्रोल आयात भएको थियो ।

जसबापत तीन अर्ब राजस्व सङ्कलन भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९–०८० मा चार अर्ब ६५ करोड मूल्यको एलपी ग्याँस भित्रिएबापत ८६ करोड ५८ लाख रुपैयाँ राजस्व जम्मा भएको छ । आर्थिक वर्ष २०७८–०७९ मा पाँच अर्ब ३३ करोड मूल्यको एलपी ग्याँस भित्रिएबापत ९९ करोड ५५ लाख रुपैयाँ राजस्व जम्मा भएको थियो ।

आर्थिक वर्ष २०७८–०७९ को तुलनामा आर्थिक वर्ष २०७९–०८० मा डिजेल, पेट्रोल, एलपी ग्याँस र एटिएफको आयातमा कमी आएको छ । एटिएफको आयात घटे पनि राजस्व भने बढेको छ । आर्थिक वर्ष २०७९–०८० मा ८२ लाख २९ लाख रुपैयाँ मूल्यको एटिएफ आयात हुँदा १२ करोड ४२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०७८–०७९ मा ७९ करोड ६६ लाख रुपैयाँ मूल्यको एटिएफ भित्रिँदा १२ करोड ३८ लाख रुपैयाँ राजस्व प्राप्त भएको थियो । आर्थिक वर्ष २०७८–०७९ मा आठ हजार ५२८ किलोलिटर एटिएफ भित्रिएकोमा गत आवमा सात हजार २४८ किलोलिटर भित्रिएको छ । भन्सार कार्यालयमा सङ्कलन हुनेमध्ये करिब ५० प्रतिशत राजस्व इन्धन आयात बापतको हुने गरेको छ ।

गत आर्थिक वर्षमा भन्सार लक्ष्य २९ अर्ब ३२ करोड रुपैयाँ रहेकोमा १८ अर्ब १९ करोड ६९ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी डिल्लुप्रसाद शर्माले जानकारी दिए । यो रकम अघिल्लो आव २०७८–०७९ भन्दा करिब चार अर्ब रुपैयाँ कम हो ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १६:०५