सूचनाको शक्ति - The Power Of Information

        

सुरक्षाका लागि जानकीमा छोरी बीमा कार्यक्रम

बाँकेको जानकी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न छोरी बीमा कार्यक्रमको सुरुवात गरेको छ । यसबाट मातृ तथा शिशु मृत्युदरमा कमी ल्याउन सहयोग पुग्ने बिश्वास लिइएको गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष कल्याण कोष कार्यक्रम अन्तर्गत छोरी बीमा कार्यक्रम ल्याइएको हो । यो कार्यक्रम अन्तर्गत गत बर्ष साउन १ गतेपछि जन्मेका छोरीहरुको बीमा सुरु गरिएको छ । गत आर्थिक वर्ष २०७९–८० मा २०० जना छोरीको बीमा गरिएको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिए ।

खाँले भने, ‘यो कार्यक्रम बालबिवाह न्यूनीकरण र विद्यालयमा छात्रालाई टिकाइ राख्न समेत उपयुक्त देखिएको छ ।’ गाउँपालिकाका अनुसार गत बर्ष साउन १ गतेपछि जन्मिएका छोरीको एक लाख रुपियाँको बीमा गरिएको छ । बीमाबापत बार्षिक पाँच हजार रुपैयाँका दरले २० बर्षसम्मको प्रिमियम रकम गाउँपालिकाले जम्मा गर्नेछ ।

बाल विवाह न्यूनीकरणका लागि यो कार्यक्रम ल्याइएका कारण २० बर्ष नपुग्दैं विवाह गरेमा बीमाबापतको रकम सम्वद्ध बालिकाले पाउन नसक्ने र रकम पालिकामै फिर्ता हुने ब्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

यसबाट विहेबारी २० बर्षपछि हुने भएकाले आमा र बच्चा दुबैको स्वास्थ्य सुरक्षा हुने विश्वासका साथ कार्यक्रम अघि सारिएको अध्यक्ष खाँले जानकारी दिए । अध्यक्ष खाँले भने, ‘मधेसी र मुस्लिम समुदायमा कम उमेरमै विवाह गर्ने प्रचलन रहेकाले त्यसलाई रोक्न दीर्घकालिन रुपमा लाभदायक हुन्छ ।’

छोरी बीमा कार्यक्रमपछि भ्रुण हत्या रोकिने र आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षामा पनि टेवा पुग्ने पालिकाले जनाएको छ । यसबर्ष गाउँपालिकाले छोरीबीमा कार्यक्रमका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । छोरी जन्मिएको ३५ दिनभित्र वडा कार्यालयमा घटना दर्ता भएलगत्तै वडा कार्यालयमार्फत पालिकाबाट छोरीहरुको बीमा गर्ने गरिएको छ । छोरी बीमा कार्यक्रम सुरु भएपछि वडाका टोलवस्तीमा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १५:५४