सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरमा ३० प्रतिशत मात्रै रोपाइँ, वर्षा नहुँदा किसान चिन्तित

गत वर्ष वर्षा नहुँदा धान रोपाइँ हुन नसकेपछि सुख्खा क्षेत्र घोषणा गरिएको बाँकेको नरैनापुर गाउँपालिकामा यस वर्ष पनि ३० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार सो गाउँपालिकामा हालसम्म पनि पर्याप्त वर्षा हुन नसकेकाले रोपाइँ प्रभावित भएको छ ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमदले बाँकेको अन्य पालिकामा ५५ देखि ७५ प्रतिशतसम्म रोपाइँ भए पनि नरैनापुर गाउँपालिकामा पानी अभाव रहेका कारण हालसम्म ३० प्रतिशतसम्म मात्र रोपाइँ भएको जानकारी आएको बताए ।

उनले गत वर्ष सुख्खा भोगेको सो पालिकामा यस वर्ष पनि हालसम्म वर्षा नभएकाले बोरिङ भएका क्षेत्रहरूमा मात्र रोपाइँ सकिएको जानकारी दिए । अझै केही समय वर्षा नहुने हो भने सो पालिकाका किसानलाई धान खेतीका लागि समस्या हुन सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रमुख अहमदले पर्याप्त वर्षा नहुँदा पनि जिल्लाका अन्य पालिकमा ७५ प्रतिशत रोपाइँ भएकोमा जानकीमा ५५ र नरैनापुरमा ३० प्रतिशत मात्रै भएपछि किसानको चिन्ता बढ्न थालेको बताए । उनले सिक्टा सिँचाइ आयोजनाको नहर पुगेको क्षेत्र र कृषि ज्ञान केन्द्रले स्यालो ट्युबवेलमार्फत सिचाई सुविधा पुर्याएको क्षेत्रमा मात्रै हालसम्म रोपाइँ भएको जानकारी दिए ।

जिल्लाको खजुरा, बैजनाथ, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा भने सिँचाइ सुविधा अन्य ठाउँभन्दा बढी रहेकाले यी पालिकामा बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । बाँके जिल्लामा ३६ हजार पाँच सय हेक्टर जमिनमा धान खेती हुने गरेको छ । तीमध्ये अधिकांशमा अझै सिँचाइ सुविधा पुग्न सकेको छैन ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १५:४७