सूचनाको शक्ति - The Power Of Information

        

स्थानीयहरु मिलेर दलित परिवारको घर भत्काएपछि…

बझाङमा एक दलित परिवारको स्थानियहरु मिलेर निर्माणाधिन अवस्थामा रहेको घर भत्काइ दिएका छन् । बझाङको वित्थडचिर गाउँपालिका–७ स्याल ढुंगामा पुड्के ओखेडाको निर्माणाधिन अवस्थामा रहेको घर स्थानियहरु मिलेर भत्काएको पीडित पुड्के ओखेडाले बताए ।

साउन १० गते घर निर्माण स्थलमा आएर स्थानियहरुले घरको ढोका, ढुंगा उटेलेर (निकालेर) फालेको ओखेडाको भनाई छ । ‘२५ बर्षदेखि त्यो जमिन हामीले भोकचलन गर्दै आएका छौँ । त्यो जमिनको लालपुर्जा पनि हामीसंग छ,’ उनले भने ।

‘डुम, दलितहरु तिमीहरुले सार्वजनिक जग्गामा घर बनाउन पाउँदैनौं’ भनेर गैरदलित गाउँलेहरु आएर घर भत्काउनुका साथै खेतमा लगाएको अन्नवाली पनि काटेर लगेको उनले बताए । अहिले जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दर्ता गरेर ओखेडा सपरिवार न्यायका लागि सदरमुकाम चैनपुरमा पुगेका छन् ।

घर बनाउनु अगाडि पनि जग्गाको विषयमा विवाद भएर न्यायिक समितिमा पुगेको भन्ने जानकारी आएको र स्थानियहरुलाई जिल्लामा बोलाएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए । यता वित्थडचिर गाउँपालिका–७ का वडा सदस्य मुकुन्द जोशीले ऐलानी जमिन नजिकै ओखेडाको जमिन भएकाले उक्त विवाद उत्पन्न भएको र त्यसैको समाधानको लागि छलफल गर्न सदरमुकाम चैनपुरमा आएको बताए ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १५:१५