सूचनाको शक्ति - The Power Of Information

        

राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताउनुभएको छ ।

इटाली भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले राजीनामा दिने भए देऊ, नभए सदन चल्दैन भनेर विपक्षीले गरेको अवरोध राम्रो नभएको बताउनुभयो ।

उहाँले उपप्रधानमन्त्री, मन्त्रीहरूसँग छलफल गरेर यस विषयमा प्रष्ट पार्ने बताउनुभयाे । स्पष्टीकरणको मौका नै नदिई एकोहोरो राजीनामा मात्रै माग्ने संस्कार राम्रो नभएको प्रधानमन्त्रीको भनाइ छ ।

यस्तै देशव्यापीरूपमा महामारीका रूपमा फैलिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि सरकारको तर्फबाट आवश्यक मेहनत गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक, अन्य सरोकारवाला निकायसँगको छलफलमा पनि त्याे रोग नियन्त्रणका लागि आवश्यक पहल गरिएको र लाखाैँ पशुचौपायालाई खोप लगाइएको बताउनुभयो ।

प्रधानमन्त्रीको हैसियतमा संयुक्त राष्ट्र सङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागिता आफैँमा महत्त्वपूर्ण रहेको उहाँले जानकारी दिनुभयो ।

विश्व समुदायमा नेपालको उपस्थिति र हैसियत थप स्थापित गर्न सम्मेलन महत्त्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १३:१७