सूचनाको शक्ति - The Power Of Information

        

१६ अर्ब बढीको फलफूल आयात, स्याउमा मात्रै सात अर्ब

गत आर्थिक वर्ष २०७९–८० मा रु १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । सार्वजनिक विवरणानुसार चीनबाट सबैभन्दा धेरै स्याउ आयात भएको देखिन्छ ।

कूल गार्हस्थ उत्पादन (जीडीपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आवमा रु १६ अर्ब आठ करोडभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको देखिन्छ ।

रु सात अर्बको करोड स्याउ आयात

विभागका अनुसार गत आवमा रु सात अर्ब नौ करोड ४४ लाख ७७ हजार मूल्य बराबरको आठ करोड ३२ लाख ७४ हजार ३३१ केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले रु ८६ करोड ८३ लाख ८९ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

चीनबाट मात्र रु पाँच अर्ब १५ करोड ५८ लाख ४५ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । भारतबाट रु एक अर्ब ९३ करोड आठ लाख ७८ हजार, अमेरिकाबाट रु ५० लाख ३४ हजार, स्वीजरल्याण्डबाट रु २७ लाख २० हजार मूल्य बराबरको स्याउ आयात भएको विवरण छ ।

रु दुई अर्बको अङ्गुर आयात

गत आवमा मुलुकमा रु दुई अर्ब १५ करोड ८८ लाख ७६ हजार मूल्य बराबरका तीन करोड नौ लाख आठ हजार १७२ केजी ताजा अङ्गुर आयात भएको छ । त्यसबाट सरकारले रु ११ करोड एक लाख ७० हजारको राजस्व सङ्कलन गरेकोे छ ।

ताजा अङ्गुर सबैभन्दा धेरै भारतबाट रु दुई अर्ब १३ करोड ७६ लाख ६५ हजार बराबर तथा चीन बाट रु दुई करोड १२ लाख तीन हजार बराबरको आयात भएको भन्सार विभागले सार्वजनीक गरेको तथ्यांकमा उल्लेख छ ।

केरा आयातबाट एक अर्ब ६२ करोड बाहिरियो

विभागका अनुसार गत आवमा रु एक अर्ब ६२ करोड ७३ लाख ९९ हजार बराबरको केरा आयात भएको छ । कूल पाँच करोड ३३ लाख ९४ हजार ७९५ केजी केरा भारतबाट आयात भएको र त्यसबापत सरकारले रु २९ करोड ४३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको सार्वजनिक विवरणमा उल्लेख छ ।

विभागका अनुसार गत आवमा ८९ लाख चार हजार एक सय २७ केजी अनार आयातमा रु ९३ करोड ४९ लाख ३५ हजार रकम बाहिरिएको छ । जसबाट सरकारले रु नौ करोड ४९ लाख ९० हजार राजस्व उठाएको छ । सार्वजनिक विवरणानुसार गत आवमा रु ८८ करोड १८ लाख ८४ हजार बराबरको एक करोड ५४ लाख ८७ हजार ८८१ केजी सुन्तला आयात भएको छ ।

त्यस्तै एक करोड ५५ लाख ५१ हजार ३६८ केजी अम्बा तथा आँप आयातमा रु ७० करोड दुई लाख ७२ हजार बाहिरिएको छ । साथै दुई करोड ७० लाख ७७ हजार २८६ केजी खरबुजा आयातका लागि रु ६८ करोड ९५ लाख ४० हजार बराबर रकम बाहिरिएको छ । नेपालको हावापानी सुहाउँदो फलका रुपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ ।

विभागका अनुसार गत आवमा ८८ लाख ३५ हजार ३०८ केजी मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य रु ३० करोड ९० लाख ८१ हजार बराबर छ । यस अवधिमा रु १३ करोड ६२ लाख ५८ हजार बराबरको ३० लाख ५० हजार ८९० केजी भुइँकटहर आयात भएको छ ।

त्यस्तै १५ लाख ६२ हजार ७३८ किलो नास्पाती आयातमा रु १२ करोड ३६ लाख २६ हजार खर्च बाहिरिएको छ भने रु नौ करोड ४५ लाख ७८ हजार बराबरको दुई लाख ५८ हजार ६२८ किलो एभोगाडो आयात भएको छ भने रु सात करोड ५२ लाख २१ हजार बराबरको चार लाख १० हजार ३२२ किलो किबी आयात भएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार १७:४७