सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच टक्कर

कुखुरा तस्करलाई प्रहरीको ‘लाइन’, सशस्त्र प्रहरी एक्सनमा

भारतसँग जोडिएका बाँकेसँग विभिन्न नाकाबाट प्रहरीकै मिलेमतोमा दैनिक अवैधरुपमा भारतीय कुखुरा र कुखुराजन्य उत्पादनको तस्करी बढ्न थालेको छ ।

केही समययता भारतबाट कुखुराको अवैध आयात बढ्न थालेको छ । भारतसँग जोडिएका बाँकेसँग विभिन्न सीमा नाकामा आलु–प्याज छाम्न प्रहरी व्यस्त छ । तर, भारतबाट अवैधरुपमा कुखुरा आयातमा भने मिलेमतोमै छुट दिइरहेको छ ।

सरकारले भारतीय बजारबाट कुखुुरा र पंक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाएको छ । तर बाँकेमा खुलेआम विक्री वितरण भइरहेको छ । प्रहरीकै मिलेमतोमा भारतसँग जोडिएका बाँकेसँग विभिन्न नाकाबाट अवैध भारतीय कुखुरा खुलेआम नेपाल भित्रिरहेका छन् ।

भारतीय सीमासँग जोडिएको नाकाबाट अवैधरुपमा भारतीय कुखुरा नेपाल भित्र्याउने गरिएको छ । भारतसँग सीमा जोडिएका बाँकेको नरैनापुर, जमुनाहा, परसपुर, साइगाउँ, खजुरा लगायतका क्षेत्रबाट भारतीय कुखुरा खुलेआम नेपाल भित्रिने गरेको स्थानीयहरु बताउँछन् ।

ती नाकाबाट प्रहरीकै मिलेमतोमा भारतीय कुखुरा र अण्डा तस्करी हुने गरेको छ । नेपालमा भारतीय कुखुराको मासु प्रतिकिलो रु ५० देखि रु १०० सम्म सस्तो पर्छ । ती नाकाबाट दैनिक चार–पाँच वटा भ्यानमा भारतीय कुखुरा तस्करी भएर बाँकेका विभिन्न बजारमा पुग्ने गर्छ ।

सीमा क्षेत्रका स्थानीयहरु भन्छन्, ‘पहिले साँझ परेपछि, अहिले दिउँसै हुन्छ । तस्करीमा साइकल, अटोरिक्सा, मोटरसाइकल र चारपाङ्ग्रे भ्यानसमेत प्रयोग हुँदै आएका छन् । नेपाल प्रहरीले ‘लाइन’ दिएपछि दिउँसै कुखुरा र अण्डा तस्करी हुँदै आएको छ ।’

‘नरैनापुरमा कुखुरा फर्म नभए पनि दैनिक दुई वटा भ्यानमा कुखुरा नेपालगन्ज पुग्छ, सरोकारवालालाई महिनाको ८० हजार पुग्छ,’ नरैनापुरका एक जना युवाको दावी छ, ‘तस्करी लगभग यस्तै छ ।’ प्रहरीकै मिलेमतोमा भारतबाट अवैध कुखुरा तस्करी बढेको देखिन्छ ।

स्रोतका अनुसार तस्करले सीमा क्षेत्रका प्रहरी कार्यालयका मासिकरुपमा इन्चार्जलाई मोटो रकम बुझाएर कुखुरा तस्करी गर्दै आएका छन् । छोटो दुरीको सिमाना र प्रहरीले लाइन दिएपछि भारतबाट आयात गरेर ल्याएका कुखुरालाई नेपालकै कुखुरा भएको तस्करहरूले दाबी गर्छन् ।

प्रहरीले नै मासिक असुलेर तस्करलाई अवैध कुखुरा आयातमा ‘लाइन’ दिएपछि यहाँका व्यवसायी मारमा परेको कुखुरापालक व्यवयासीहरुको गुनासो छ । भारतबाट करिव ६० प्रतिशत कुखुरा प्रहरीकै मिलेमतोमा आयात हुने गरेको व्यवसायीहरुको दावी छ ।

भारतबाट अवैध कुखुरा आयातमा नियन्त्रण गर्नेतर्फ नभई प्रहरी नै तस्करसँग मिलेपछि यहाँका व्यवसायीको लगानी उच्च जोखिममा छ । प्रहरीकै मिलेमतोमा भारतबाट दिनहुँ अवैध कुखुरा भित्रिँदा आफूहरु मारमा परेको व्यवसायीहरु बताउँछन् ।

व्यवसायीहरु भन्छन्, ‘निकै जोखिम मोलेर कुखुरापालन गरेका छौं । खुला सिमानाका कारण भारतबाट भित्रिने अवैध कुखुराका कारण नेपाली व्यवसायीहरु मारमा पर्दासमेत स्थानीय प्रशासनले त्यसलाई रोक्नेतर्फ चासो नदिएर मौन बस्दा हामीहरू समस्या परेका छौं ।’

कुखुरापालकले निकै जोखिम मोलेर व्यवसाय गरे पनि प्रहरी प्रशासनकै कारण व्यवसायीको ढाड सेक्ने काम भइरहेको उनीहरु बताउँछन् । भारतबाट अवैध कुखुरा भित्रिदा नेपाली कुखुरा विक्री नहुँदा यहाँका पोल्ट्री व्यवसायीहरुको व्यवसाय नै चौपट बन्दै गएको छ ।

भारतबाट आउने कुखुराबाट पंक्षीजन्य रोगहरु भित्रिने खतरा रहेको र नेपालमै मागलाई धान्ने गरी पंक्षीजन्य उत्पादन भइरहेकाले सरकारले भारतबाट आयातमा प्रतिबन्ध लगाए प्रहरीको पनि कुखुराको अवैध आयात भने निरन्तर जारी छ ।

सीमापारिबाट भित्र्याएर कोहलपुर पुर्याइएका अवैध चल्ला ।

सुरक्षा निकायको मिलेमतोमा तस्करी मौलाउँदा त्यसको प्रत्यक्ष मारमा नेपाली कुखुरापालक किसान परेका छन् । भारतसँग खुला सीमाको फाइदा उठाउँदै रातदिन तस्करहरूले अवैध बाटोबाट कुखुरा नेपाल भित्र्याइरहेका छन् ।

यसमा नेपाल प्रहरीको भरपुर साथ रहेको सीमा क्षेत्रका स्थानीयहरु बताउँछन् । यसअघि पटक–पटक अवैध बाटोबाट भित्रिएका भारतीय कुखुरा रोक्न ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाँकेका किसान सडकमै उत्रिएर आन्दोलन गरेका थिए ।

त्यतिबेला जिल्ला प्रशासन कार्यालयले नाकामा कडाई गर्ने जनाएपछि किसानले आन्दोलन स्थगित गरेका थिए । विगतमा जिउँदो कुखुरा र भारतमै काटेर ल्याएको कुखुराको मासु तस्करी हुने गर्थ्यो । बीचमा केही समय कुखुरा र मासु तस्करी रोकिएको थियो ।

भारतीय बजारबाट ल्याएर जिउँदो कुखुरा प्रतिकिलो १८० देखि २०० रुपैयाँमै तस्करले नेपाली बजारमा बेच्छन् । नेपाली जिउँदो कुखुरा प्रतिकिलो २८० देखि ३०० रुपैयाँ पर्छ । किलोमै १०० रुपैयाँ अन्तर हुँदा अहिले फेरि तस्करी मौलाएको किसानहरू बताउँछन् ।

‘हामीले कुखुरा पाल्छौं, बिक्री गर्ने बेला प्रहरीसँग तस्करहरुको साँठगाँठपछि अवैध कुखुरा तस्करी मौलाउँछ, जसले गर्दा मुनाफा नै हुँदैन,’ राधापुरका एक किसानले भने, ‘भारतीय अवैध कुखुरासँग प्रतिस्पर्धा गर्न नसक्दा हामी पलायन हुने अवस्था आयो ।’

भारतबाट भित्रिएका अवैध कुखुरा नेपालगन्ज, कोहलपुर, खजुरा लगायत बाँकेका विभिन्न बजार क्षेत्रमा पुग्ने गरेको छ । तस्करी गराएवापत प्रहरीले मोटो रकम बुझ्ने गरेको स्रोतले बताएको छ । नेपाल प्रहरीले अहिले बाँकेमा घुमुवा परिचालन गरेर असुली गरिरहेको छ ।

लामो समयदेखि बाँकेमा जरो गाडेर बसेका प्रहरी कर्मचारीले अहिले धमाधम तस्करी गराइरहेको व्यवसायीहरुको आरोप छ । बाँकेको जमुनाह, साइगाउँ, राधापुर र नरैनापुर क्षेत्रबाट ठूलो मात्रामा भारतबाट अबैध कुखुरा नेपालमा आउने गरेको किसानहरूको गुनासो छ ।

यसरी भित्र्याइएका कुखुरालाई नेपाली उत्पादन भन्दै नेपालगन्ज, कोहलपुर र विमानमार्फत कर्णाली प्रदेशको जुम्ला, डोल्पा लगायतका जिल्लामा समेत पठाउने गरिएको जानकी गाउँपालिका–१ का किसान असगर कुरेशीले जानकारी बताए ।

बाँके कुखुरामा आत्मनिर्भर भए पनि बाहिरबाट कुखुरा आयात र तस्करी नरोकिँदा किसान मर्कामा परेको कुखुरा व्यवसायीहरु बताउँछन् । कुखुरा व्यवसायी संघ बाँकेका अनुसार अहिले जिल्लामा करिब ५०० किसान कुखुरा पालन व्यवसायमा संलग्न छन् ।

सीमा क्षेत्रमा खटिएका प्रहरीले तस्करी नियन्त्रण गर्नुको साटो तस्करकै संरक्षण गर्ने गरेको स्थानीयहरु बताउँछन् । एक जना व्यवसायीले भने, ‘कहाँबाट कसरी नेपालमा भारतीय कुखुरा भित्रिन्छ मलाई थाहा छैन । तर, भारतीय कुखुराका कारण हामी धरासायी भएका छौं ।’

भारतमा कुखुराको दाना, चल्ला, तयारी मासु र कुखुराको मूल्य सस्तो भएकाले तस्करी व्यापक छ । यसरी प्रहरीको मिलेमतोमा तस्करी मौलाइरहेका बेला सशस्त्र प्रहरी भने एक्सनमा उत्रिएको छ । सशस्त्रले अवैध कुखुरा तथा पंक्षीजन्य उत्पादन धमाधम पक्राउ गर्न थालेको छ ।

भारतबाट अवैध रुपमा नेपाल भित्र्यएका एक हजार बढी प्रतिबन्धित कुखुराका चल्लालाई सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण बाँकेबाट खटिएको टोलीले कोहलपुरबाट एकै दिन नियन्त्रणमा लिएपछि सीमामा नेपाल प्रहरीको मिलेमतो पुष्टि भएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण बाँकेका प्रमुख एसपी रमेशविक्रम शाहीले सशस्त्र प्रहरीको सक्रियता बढेकै कारण धेरै कुखुराका चल्ला मात्र नभएर अन्य सामान पनि बरामद गर्न सफल भएको जनाउँदै तस्करी नियन्त्रण गर्न अझै बढी सक्रियता बढाइने बताए ।

साउन १ गतेबाट भारतबाट ल्याइने १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार राजस्व लिन थालिएको छ । नेपाल प्रहरीले मुख्य नाकामा अत्याधिक कडाइ गरेजस्तो गरे पनि प्रहरीकै भारतबाट अवैध रुपमा मालसामान भित्रिने क्रम झन् बढेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार १५:२२