फिल्ममा भिलेन वा गुण्डा नभए फिल्म अधुरो लाग्छ । जहिलेसम्म भिलेनले हिरोइनलाई सताउँदैन वा हिरोले बदला लिँदैन तबसम्म फिल्ममा मजा नै आउँदैन । फिल्ममा खुंखार खलनायकहरुको पनि ठूलो भूमिका हुने फिल्मको शुरुआतदेखि नै चलिरहेको छ ।
फिल्ममा त भिलेनलाई कसैले पनि मन पराउँदैन । तर भिलेनको भूमिका निर्वाह गर्ने अभिनेताको असल जीवनमा के भइरहेको छ वा उनी कस्तो व्यक्ति छन् भन्ने चासो भने सबैलाई हुन्छ । त्यस्तै बलिउडका खुंखार खलनायकमा अमजद खानको नाम पनि अवश्य आउँछ ।
अमजद खानले कैयौं फिल्महरुमा काम गरे तर अहिले पनि मानिसले उनलाई चर्चित फिल्म ‘शोले’ को गब्बर सिंहकै रुपमा चिन्ने गर्छन् । धेरै कम मानिसलाई थाहा होला उनले बाल कलाकार बाटै आफ्नो फिल्मी करिअरको शुरुआत गरेका थिए । आफ्नो दमदार अभिनयले सबैको मन जितेका थिए ।
वर्षौंसम्म सबैलाई मनोरञ्जन गरिरहेका अमजदको पछिल्लो समय राम्रो चलिरहेको थिएन र उनले २७ जुलाई १९९२ मा संसारलाई अलविदा भने । उनी बितेको मितिकै अवसरमा हामी तपाईंलाई उनीसँग जोडिएको एउटा रमाइलो किस्सा बताउँदैछौं । अमजदलाई अभिनयमा जति चाहना थियो त्यति नै चाहना चिया पिउने पनि थियो ।
एक दिनमा उनले २० कपभन्दा धेरै चिया पिउने गर्थे । यो कुरा सुन्न पनि अचम्म लाग्छ तर उनको चियाप्रतिको लत यस्तो थियो कि चिया बिना उनलाई बाँच्न पनि गाह्रो छ जस्तो लाग्थ्यो । यस्तो पनि भनिन्छ, उनले एक दिनमा ३० देखि ४० कप पनि चिया पिउने गर्थे । यदी चिया नपाए भने छटपटाउन थाल्थे ।
यही सिलसिलामा उनको एउटा रमाइलो किस्सा छ । जब उनले चिया पाएका थिएनन् त्यतिबेला उनले अनौठो कदम चालेका थिए । अमजद खान थिएटर आर्टिस्ट थिए । एकपटक पृथ्वी थिएटरमा अभ्यास चलिरहेको थियो । उक्त नाटकमा अमजद पनि थिए । जब नाटकको बीचमा उनले चिया मागे र उनले चिया पाएनन् त्यसपछि उनी छटपटाउन थाले ।
जब उनले चिया किन नदिएको भनेर सोधे, त्यतिबेला त्यहाँ चिया बनाउनका लागि दुध सकिएको बताइयो । त्यसपछि उनले आफ्नो चियाको तलतल मेटाउनका लागि अनौठो उपाय निकाले । रिपोर्टका अनुसार अमजदले अर्को दिन सेटमै दुई वटा भैंसी लिएर गए र त्यहाँ बाँधे । चियाका लागि उनको पे्रम देखेर सबै हैरान परेका थिए ।
उनको पछिल्लो जीवन एकदमै दुखदायी बितेको थियो । रिपोर्टअनुसार उनी मोटोपनको शिकार भइसकेका थिए, जसले गर्दा उनलाई राम्रोसँग हिँड्न डुल्न पनि समस्या हुन थाल्यो । एकपटक उनी शुटिंगका लागि गोवा जाँदै थिए, तर उनको फ्लाइट छुट्यो । त्यसपछि उनले कारबाट जाने निर्णय गरे ।
जब उनी कारमा गोवा गइरहेका थिए, एउटा ट्रकले उनलाई ठक्कर थियो । यो दुर्घटना यति नराम्रो थियो कि अमजद कोमामा गए । जब उनी रिकवर भए, उनी ह्वीलचेयरको सहारा लिनु पर्ने भयो । त्यसपछि उनको तौल तीव्र गतिमा बढ्न थाल्यो । एकदिन उनलाई हृदय घात भयो र उनको मृत्यु भयो ।
सत्यपाटी संवाददाता । काठमाडौं