राजश्व अनुसन्धान विभागले बुधबार बेलुका ठमेल क्षेत्रको एक घरबाट बरामद गरेको ६६ काटुनमा पनि सुन भएको हुन सक्ने आशंका गरिएको छ । विभागका एक अधिकारीले दिएको जानकारीअनुसार सुन रहेको आशंकामा नै ती काटुन बरामद भएको हो ।
विभागका महानिर्देशक नवराज ढुंगानाले कुरा गर्दै भने, ‘हामीले ६६ काटुन बरामद गरेका छौँ, त्यसभित्र के छ भन्ने अनुसन्धान भइरहेको छ ।’ विभागको टोलीले बुधबार नै बालुवाटारमा रहेको चिनियाँ नागरिकको गोदामबाट सुन गाल्ने मेसिन बरामद गरेको थियो ।
पक्राउ परेका भारतीय नागरिक थुप्तेन छिरिङ र चिनियाँ नागरिक जेक्युयाङ लीनको बयानका आधारमा अनुसन्धान गर्दा सुन गाल्ने मेसिन भेटिएको थियो । साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पास भएर बाहिरिएको ब्रेक शु बरामद गरेको थियो ।
त्यसभित्र करिब एक क्विन्टल सुन रहेको आशंका गरिएको छ । बरामद भएका ब्रेक शु बाट सुन निकालेर नेपाल राष्ट्र बैंकको टक्सार विभागमा लगिएको छ । त्यहाँ सुरक्षित राखिएको सुन शुक्रबार या आइतबार तौल लिने तयारी गरिएको छ ।
साउन ३ गते काठमाडौंबाट बरामद भएको सुनको अहिलेसम्म तौल लिइएको छैन । राजश्व अनुसन्धान विभागले काठमाडौंबाट करिब एक क्विन्टल सुन बरामद गरेको बताए पनि त्यसको तौल भने अहिलेसम्म पनि लिइएको छैन ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा लगेर बरामद भएको सुन सुरक्षित राखिएको छ । ‘राजश्व अनुसन्धान विभागबाट आएको सुन हामीले सुरक्षित अवस्थामा राखेका छौँ, तौल लिनु भन्ने पत्र आएको छैन, पत्र नआउन्जेल हामीले केही गर्न मिल्दैन,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन महाशाखा टक्सार विभागका निर्देशक थानेश्वर आचार्यले पनि अहिले प्रक्रिया अघि नबढेको बताए । राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार अझै पनि अनुसन्धान बाँकी रहेको र जरोसम्म पुग्ने गरी अनुसन्धान थालिएको छ ।
रेडी ट्रेडर्सको नाममा आएको ब्रेक शु भित्र लुकाएर ल्याइएको सुन विभागले नियन्त्रणमा लिएको थियो । यही प्रकरणलाई लिएर अहिलेसम्म जम्मा १७ जना पक्राउ परिसकेका छन् भने अनुसन्धान जारी रहेको विभागले जनाएको छ । पक्राउ परेका चिनियाँ नागरिकको बालुवाटारमा रहेको गोदामबाट सुन गाल्ने मेसिन बरामद गरिएको छ ।
बुधबार बालुवाटारबाट मेसिन बरामद भएको विभाग स्रोतले जानकारी दियो । विभागको टोलीले बुधबार आशंकामा रहेका चिनियाँ र भारतीय नागरिक बस्ने क्षेत्रमा पनि अनुसन्धान गरेको जनाएको छ । भारतीय र चिनियाँ नागरिक यसअघि नै पक्राउ परिसकेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं