सूचनाको शक्ति - The Power Of Information

        

बालिका शिक्षाका लागि जानकीमा ‘कन्या विद्यालय’

बाँकेको जानकी गाउँपालिकास्थित कन्या विद्यालय ।

मधेश तथा मुस्लिम समुदायका बालिकालाई विद्यालयमा टिकाउनका लागि बाँकेको जानकी गाउँपालिकाले कन्या विद्यालय सञ्चालनमा ल्याएको छ । जानकी गाउँपालिका ३ मानपुरमा रहेको नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रदेखि कक्षा ६ सम्म पढाइ हुने गरेको छ ।

यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आएको यस विद्यालयमा २७४ जना विद्यार्थी भर्ना भएको विद्यालयका प्रधानाध्यापक मालती शाहीले जानकारी दिइन् । प्रधानाध्यापक शाहीले भनिन्, ‘पहिलो वर्ष भए पनि विद्यार्थीको सङ्ख्या धेरै छ, अभिभावकले निर्धक्कका साथ बालिकालाई विद्यालय पठाउनुभएको छ ।”

गाउँपालिकाका अध्यक्ष छब्बन खाँले मधेश तथा मुस्लिम समुदायमा छोरीलाई घरबाहिर पठाउन अभिभावकहरुले सङ्कोच मान्ने भएकाले अलग्गै कन्या विद्यालयमा सञ्चालनमा ल्याइएको जानकारी दिए । यस विद्यालयमा कार्यरत शिक्षक र अन्य कर्मचारी पनि महिला नै राखिएको अध्यक्ष खाँको भनाइ छ ।

अध्यक्ष खाँले भने, ‘कक्षा ५ पढेपछि बालिकालाई बाहिर पढ्न नपठाउने र बिहे गरिदिने प्रचलन रहेकाले त्यसलाई अन्त्य गर्नका लागि अलग्गै कन्या विद्यालय स्थापना गर्नुपरेको हो ।’ गाउँपालिकाको हिउँदे अधिवेशनको निर्णय अनुसार कन्या विद्यालय सञ्चालन गरिएको छ । अध्यक्ष खाँका अनुसार कक्षा १२ सम्म सञ्चालन गर्ने अवधारणाका साथ कन्या विद्यालय सञ्चालन गरिएको हो ।

अभिभावकले बालिकाको सुरक्षाप्रति आश्वस्त हुँदै विद्यालयमा पढ्न पठाउने भएकाले उनीहरुलाई बसमार्फत घरबाट विद्यालय र विद्यालयबाट घर सम्म सुरक्षित रुपमा छोड्नका लागि बसको व्यवस्थापन गरिने भएको छ । ६ वटै वडाबाट बालिकालाई विद्यालयसम्म पहुँच पुर्याउनका लागि एउटा बस खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने थप एउटा बसका लागि भारतीय दूतावाससँग माग गरिएको अध्यक्ष खाँले जनाए ।

विद्यार्थीका लागि आवश्यक पोशाक, झोला जुत्ता लगायतका सामग्री पनि उपलब्ध गराइने भएको छ । यसबाट छात्राहरुले बीचमै कक्षा छोड्ने कार्य रोकिने र बालविवाहमा पनि कमी आउने विश्वास गाउँपालिकाको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार ०७:१९