सूचनाको शक्ति - The Power Of Information

        

पानीमा डुबेर वार्षिक ३२ जनाको मृत्यु

कार्यक्रममा आफ्नो भनाइ राख्दै बाँकेका प्रजिअ विपिन आचार्य ।

बाँके जिल्लामा गत आर्थिक वर्ष २०७९–०८० मा ३२ जना सर्वसाधारणको पानीमा डुबेर मृत्यु भएको छ । जिल्लामा रहेका नाला, पोखरी, तालतलैया, नदी तथा अन्य क्रियाकलाप गर्दा ३२ जना सर्वसाधारणको गत आर्थिक वर्षमा पानीमा डुबेर मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।

आर्थिक वर्ष २०७८–०७९ मा त्यसरी पानीमा डुबेर मृत्यु हुनेको सङ्ख्या ३४ रहेको उनले जानकारी गराए । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजकसमेत रहेका प्रजिअ आचार्यले उक्त कुराको जानकारी गराएका हुन् । उनले वर्षेनी पानीमा डुबेर अकालमा मृत्युवरण गर्नेको सङ्ख्या ठूलो रहेकाले सबैले सजगता अपनाउनुपर्ने बताए ।

बाँकेमा पहिलोपटक मनाइएको डुबेर हुने मृत्यु रोकथाम दिवसमा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको अध्यक्षता एवम् नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक प्रमुख कमरुद्दिन राईको प्रमुख आतिथ्य थियो । कार्यक्रममा डुबेर हुने मृत्यु दर वर्षेनी बढ्दै गइरहेको भन्दै सावधानी र सतर्कता अपनाउनुपर्नेमा सहभागिहरुले जोड दिएका थिए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद रिजाल, नेपालगन्ज उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक समीरप्रताप सिंह, नेपाल रेडक्रस सोसाइटी बाँकेका मन्त्री अजिज अहमद सिद्दिकी, उपनिर्देशक दोलख डाँगी लगायतको उपस्थिति थियो ।

हरेक वर्ष जुलाई २५ मा पानीमा डुबेर हुने मृत्यु रोकथाम गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिए पनि बाँकेमा भने पहिलो पटक दिवस मनाइएको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थान अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

स्रोत : गोरखापत्र
प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार ०७:१६