सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा बैङ्किङ कसुरमा ३०५ उजुरी दर्ता

पछिल्लो समयमा आएर अन्य प्रकारका विभिन्न आपराधिक घटनासहित बाँकेमा आर्थिक अपराधका घटनाहरू पनि बढ्दै गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लामा आर्थिक लेनदेन, ठगी, झुक्क्याउने लगायतका घटना बढ्दै गएकोमा सबैभन्दा बढी बैङ्किङ कसुरका घटनाहरू हुने गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जिल्लामा बैङ्किङ कसुरका उजुरी विगतका तुलनामा अहिले धेरै नै बढी आउन थालेको बताए ।

उनले गत आर्थिक वर्ष २०७९–०८० मा मात्र जिल्लामा बैङ्किङ कसुरका ३०५ वटा उजुरी परेको बताए । डिएसपी डाँगीले अघिल्लो वर्ष २०७८–०७९ मा बैंकिंग कसुरका ७५ वटा उजुरीमात्र परेकोमा गत आवमा त्यसको तीन गुणाभन्दा बढी ३०५ वटा उजुरी परेको जानकारी दिए ।

प्रहरीका अनुसार सो भन्दा पहिले आर्थिक वर्ष २०७७–०७८ मा त्यस्ता १४ वटा उजुरी मात्र परेका थिए । बैङ्किङ कसुर लगायत अधिकांश आर्थिक अपराधका घटनाहरू समाजमा पनि मिलाइने गरिएकाले त्यस्ता घटना झनै धेरै भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रहरी प्रवक्ता डिएसपी डाँगीले भने, ‘रकम लिने र दिनेबीच लेनदेन मिलाउन अधिकतम प्रयास गर्दा पनि समाधान नभएपछि पीडितहरू उजुरी बोकेर प्रहरीमा आउँछन्, दुवै पक्षलाई झिकाएर मेलमिलाप गराउने र उजुरीको बारेमा अनुसन्धान गरेर पीडित पक्षलाई न्याय दिने काम गरिरहेका छौँ ।’

पछिल्लो समय उत्पन्न आर्थिक सङ्कटका कारण लेनदेन तथा बैङ्किङ कसुरका मुद्दा बढेको जनाइएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले आर्थिक सङ्कटले पनि आर्थिक अपराध बढ्दै गएको हुनसक्ने बताए । उनले आर्थिक सङ्कटका कारण समाजको हरेक वर्ग र समुदाय पीडित बनेकाले त्यसकै कारण पनि आर्थिक अपराध बढ्दै गएको हुनसक्ने आशङ्का गरे ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, आर्थिक वर्ष २०७९–०८० मा ठगी सम्बन्धी ३८ उजुरी परेका थिए भने आर्थिक वर्ष २०७८–०७९ मा २४ वटा उजुरी दर्ता हुँदा आव २०७७–०७८ मा १६ वटा उजुरी मात्र परेका थिए । आर्थिक वर्ष २०७९–०८० मा बाँकेमा आर्थिक अपराध सम्बन्धी ३८ वटा उजुरी परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार ०७:११