सूचनाको शक्ति - The Power Of Information

        

नेपाल श्रीलङ्काकाे क्लबसँग ६ विकेटले पराजित

एसिया कपको तयारीमा रहेको नेपाल श्रीलङ्काकाे स्थानीय क्लबसँग पराजित भएकाे छ ।

आज बुधवार भएकाे खेलमा नेपाल ब्लूमफिल्ड क्रिकेट एन्ड एथ्लेटिक क्लबसँग ६ विकेटले पराजित भयाे । नेपालले दिएकाे १ सय ९८ रनकाे लक्ष्य ब्लूमफिल्डले ४ विकेट गुमाएर २४ ओभर ३ बलमै भेटायाे । ब्लूमफिल्डका हसिथा बाेयागाेडाले ९० र अशान फर्नान्डाेले नटआउट ५६ रन बनाए । बलिङतर्फ नेपालका सूर्य तामाङ र प्रतिश जिसीले २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेकाे नेपाल ४३ ओभर ४ बलमा १ सय ९७ रनम अलआउट भएको थियो । नेपालका अर्जुन साउदले ७९ र सन्दीप जाेराले ३१ रन बनाए । बलिङतर्फ ब्लूमफिल्डका ए वानीनायके र एम पेरेराले २/२ विकेट लिए ।

नेपालले एसिया कपअघि श्रीलङ्कामा विशेष तयारी गरिरहेकाे छ । अब नेपालले ३ वटा अभ्यास खेल खेल्नेछ । नेपालले बाँकी खेल काेसँग, कहिले खेल्ने भन्नेबारे नेपाल क्रिकेट सङ्घ (क्यान) ले जानकारी दिएकाे छैन ।

नेपालले एक महिनापछि श्रीलङ्का र पाकिस्तानमा एसिया कप खेल्नेछ । नेपाल र पाकिस्तानबीचको खेल भदौ १३ गते मुल्तानमा हुनेछ । त्यसपछि भारतसँग हुने खेलका लागि नेपाल श्रीलङ्का जानेछ । नेपाल र भारतबीचको खेल भदौ १८ गते हुनेछ ।

समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर फोर’ मा पुग्नेछन् । ‘सुपर फोर’ पछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार १९:५७