सूचनाको शक्ति - The Power Of Information

        

गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरूद्ध गर्ने एमालेको तयारी

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बुधबार बस्ने संसद बैठक अवरोध गर्ने तयारी गरेको छ।

विमानस्थलबाट बाहिरिँदै गर्दा ट्याक्सीबाट ब्रेक शुसहित झन्डै १०० किलोको सुन बरामद गरिएको प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने एमालेको माग छ।

यसकै तयारीका लागि एमालेले संसदीय दलको बैठक बोलाएको छ।

दिउँसो १ बजे बस्ने संसद बैठकको तयारीको लागि एमालेले १२ बजे संसदीय दलको बैठक बोलाएको एमाले संसदीय दलका मुख्य सचेतक पदम गिरीले बताए।

‘हामीले १२ बजे संसदीय दलको बैठक बोलाएका छौं। त्यही बैठकले आवश्यक निर्णय गर्छ,’ उनले भने, ‘सुन प्रकरणमा हामीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छौं। यस प्रकरणमा उहाँको कमजोरी देखिएको छ।’

गत मंगलबार त्रिभुवन विमानस्थलबाट बाहिरिँदै गर्दा ट्याक्सीबाट ब्रेक शुसहित झन्डै १०० किलोको सुन बरामद गरिएको थियो।

घटनाबारे भने बुधबार सार्वजनिक भएको हो। उक्त प्रकरणमा १० जनालाई समातिएको छ।

यही प्रकरणलाई लिएर एमालेका नेताहरूले गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताउदै आएका छन्।

एमालेको भ्रातृ संगठन, युवा संघ नेपालले गृहमन्त्री श्रेष्ठविरूद्ध प्रदर्शनसमेत गरेको थियो।

एमाले अध्यक्ष केपी ओलीले साेमबार राति कम्बोडियाबाट फर्किने क्रममा सुन काण्डमा आफ्नो संलग्नता रहे, नरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रष्ट पार्न भनेका थिए।

अध्यक्ष ओलीले विमानस्थलमा आक्रोश पोख्दै काँक्रा आफू खाएर बियाँ अरू गालामा टाँस्ने चेष्टा भइरहेको समेत बताएका थिए।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार १०:१२