सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्र प्रहरीमा एकैपटक ६ हजार ६४६ को बढुवा !

संगठनभित्र आन्तरिक शुद्धीकरणपछि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवामा देखिएको समस्या हल गर्न केही हदसम्म सफल भएका छन् । एक वर्ष लामो प्रयासपछि सशस्त्रमा १७५ कर्मचारीको दरबन्दी थप भएको छ ।

यसले केही हदसम्म सशस्त्रमा देखिएको बढुवा जामको समस्या समाधान हुने भएको छ । यसले सशस्त्र प्रहरीका कर्मचारीमा उत्साह थपिएको छ । सशस्त्र प्रहरी स्रोतका अनुसार एकैपटक ६ हजार ६४६ कर्मचारीको बढुवा हुने भएको छ ।

दरबन्दी थप भएसँगै सशस्त्र प्रहरीमा बढुवाको प्रक्रिया सुरु भइसकेको छ । एसएसपी तहसम्मको बढुवाका लागि गत साता नै सूचना प्रकाशन भइसकेको छ । जसअनुसार बढुवाको दौडधुप सुरु भइसकेको छ ।

सशस्त्रमा एसएसपीमा १४, एसपीमा ५८ तथा ९६ जना डिएसपीमा बढुवा हुँदैछन् । त्यस्तै, ६२ जना इन्सपेक्टरमा, ६० बरिष्ठ सई, १३१ सई, ३३ असइ, ६६ बरिष्ठ हवल्दार, एक हजार ९९२ हवल्दार र तीन हजार ९३४ जना सहायक हवल्दारमा बढुवा हुनेछन् ।

एसएसपी बढुवामा गंगाराम श्रेष्ठ, राजेश उप्रेती, विकास घिमिरे, भरत खनियाँ, धुव्र कार्की, जनक पुरी, रमेश पाण्डे, नेत्र कार्की, तिर्थ पौडेल लगायत एसपी छन् । उनीहरुमध्ये गंगाराम सर्लाहीमा जुवा खेलेका कारण कारबाहीमा परेका अधिकृत हुन् ।

राजेश उप्रेती रुपन्देहीमा हुँदा अत्याधिक बल प्रयोगका कारण विवादमा तानिएका थिए । त्यस्तै, सिसं नम्बर ३ का सबै एसपीमा बढुवा हुनेछन् भने सिसं नम्बर ७ र ८ का डिएसपीमा बढुवा हुने भएका छन् । यो बढुवासँगै १६ वर्षसम्म एउटै पदमा रहनुपर्ने बाध्यता अब क्रमशः घट्दै जाने भएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार ०८:४६