देशका केही भू–भागमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । केही क्षेत्रमा भने सामान्यदेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ ।
महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बांकी पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ ।
देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने कोशी, वाग्मती र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं