सूचनाको शक्ति - The Power Of Information

        

महिलामाथि आक्षेप लगाइएको पुस्तकमा आगो !

लोकसेवा तयारीको पुस्तकमा महिलाहरुको घोर अपमान हुने प्रश्नोत्तर समावेश पुस्तक जलाइएको छ । उक्त पुस्तकको विरोधमा त्यसअघि नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय समितिले विरोध प्रदर्शन गरेको थियो ।

वन तथा वातावरण मन्त्रालयका सहायक संरक्षण अधिकृत रामएकवाल दासले लोकसेवा तयारीका निम्ति लेखेको ‘नेपाल वन सेवा दिग्दर्शन गेमस्काउट, वनरक्षक सफलताको साथी’ नामक पुस्तकमा महिलाहरुबारे आपत्तिजनक प्रश्नोत्तर राखिएको विरोधमा अनेरास्ववियूले आज राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

त्यसपछि उनीहरुले उक्त पुस्तक जलाएका हुन् । प्रदर्शनकारीहरुले ‘महिला हिंसा गर्ने कथित लेखकहरु–मुर्दावाद’, ‘महिला हिंसा बन्द गर, महिला अधिकारको रक्षा गर’, ‘कथित लेखक रामएकवाल दासलाई बर्खास्त गर’, ‘कथित लेखक रामएकवाल दासको मानसिक उपचार गरियोेस्’, लगायत नारा लगाएका थिए ।

सरकारी सेवामा कार्यरत दासले लेखेको पुस्तकको पृष्ठ १४३ को प्रश्न नम्बर १८ मा सोधिएको छ, ‘केटीलाई भालु किन भनिएको होला ?’ दिइएको चार वटा ‘अप्सन’मा विभिन्न उत्तर लेखिएको छ । पहिलो नम्बरमा पोथी भालुजस्तै व्यवहार भएर भन्ने छ । दोस्रोमा पोथी भालुले एकपल्टमा धेरै भालेसँग संसर्ग गर्ने भएर, तेस्रोमा पोथी भालु बहुपतिगामी हुन्छ र चौथो नम्बरमा माथिको सबै अप्सन उल्लेख छ ।

उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । यता, पुस्तक प्रकाशन गर्ने विद्या विकास पब्लिकेशनले आज विज्ञप्ति जारी गर्दै माफी मागेको छ । भालुको प्रवृत्ति, प्रकृतिबारे बताउन खोजिएकोमा अन्यथा टाइप हुन गएको उल्लेख गर्दै पब्लिकेशनले उक्त पुस्तक बिक्री वितरण नगर्न–नगराउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १७:१७