सूचनाको शक्ति - The Power Of Information

        

विमानस्थल भन्सार कार्यालय प्रमुखमा पाण्डे, पोखरेल आउट

अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई जिम्मेवारीबाट हटाएको छ । गत साताको एक क्विन्टल सुन काण्डपछि त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका प्रमुख फेरिएका हुन् ।

अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई भन्सार कार्यालयको नयाँ प्रमुखको जिम्मेवारी दिएको छ । यसअघिका अरुण पोखरेलको स्थानमा पाण्डेलाई खटाइएको हो । उनी गत शनिबारसम्म राष्ट्रिय किताबखानाको महानिर्देशकको जिम्मेवारीमा थिए ।

यसअघिका पोखरेल लामो समयदेखि बिदामा छन् । सोही क्रममा गत बुधबार झण्डै एक क्विण्टल सुन काण्ड बाहिरिएको हो । झन्डै एक क्विन्टल सुन विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरिएको घटनामा छानबिन गर्न पोखरेललाई उक्त जिम्मेवारीबाट अलग गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव धनिराम शर्माका अनुसार पाण्डे आइतबार मात्र राष्ट्रिय निजामती किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालय सरुवा भएर आएका थिए । पोखरेल बिदामा रहेकै बेला साउन ३ गते विमानस्थल भन्सार जाँच पास गरेर करिब एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागले सिनामङ्गलबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १६:४७