सूचनाको शक्ति - The Power Of Information

        

शक्ति केन्द्रको दबाबले आइजिपीलाई सकस

नेपाल प्रहरीका ६४ जना बरिष्ठ सइको शनिबार मध्यराती इन्सपेक्टरम बढुवा भयो । लामो रस्साकस्सीपछि इन्सपेक्टर बढुवा निस्किएको थियो । बढुवा निस्किए पनि सरुवामा भने आइजिपी बसन्तबहादुर कुँवरलाई अझै तनाव छ ।

महत्वपूर्ण जिल्ला, वृत्त तथा इप्रकामा सरुवाका लागि राजनीतिक शक्ति केन्द्रबाट सिफारिसको बाढी आएको छ । जसकारण सरुवामा सकस भएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । कास्की, भक्तपुर, इलाम, बारा, मकवानपुर, रौतहट, कपिलवस्तु लगायत जिल्लाका एसपी फेरिदैछन् ।

त्यस्तै, ६ महिनाअघि बढुवा लगत्तै चलखेलका आधारमा तराईका जिल्लाका गएका एसपीहरु विश्वराज खड्का, दुर्गा रेग्मी, कोमल शाह, नरेश सुवेदी, भरत विक, सुधीर शाही लगायतलाई पनि हटाउन दबाब परेको छ । उनीहरुको विषयमा अत्याधिक उजुरी परेको छ । यस आधारमा झन्डै दुई दर्जन जिल्लाका एसपी फेरिने सम्भावना छ ।

सबैजसो जिल्लामा सरुवाका लागि सिफारिस आएको स्रोत बताउँछ । त्यस्तै, उपत्यकाका प्रमुख वृत्तका डिएसपी पनि हेरफेर हुँदैछन् । सोह्रखुट्टे, दरबारमार्ग, गौशाला, नयाँबानेश्वर, मालिगाउँ लगायत वृत्तका डिएसपी फेरिदैछन् । वृत्तमा जानका लागि पनि मारामार सुरु भइसकेको छ । चैतमै हुनुपर्ने इन्सपेक्टर सरुवा अझै हुन सकेको छैन ।

चैतमा सरुवा नीतिविपरीत काज गरिएको थियो । यसरी काजमा गएका इन्सपेक्टरहरुको शक्तिकेन्द्रसँगको निकटता भएकाले सरुवामा ढिलाई भएको हो । सरुवामा अत्याधिक दबाब आएको र सकेसम्म कार्यक्षमताका आधारमा खटाउने आइजिपी बसन्तबहादुर कुँवरको प्रयास छ । टक्करका कारण सरुवामा ढिलाइ भएको हो ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १६:३८