सूचनाको शक्ति - The Power Of Information

        

गभर्नरले एपिजीमा ढाँट्दा ढाँट्दा हैरान

असार २४ गतेदेखि २९ गतेसम्म क्यानडाको भ्यानकोभरमा सम्पन्न एसिया प्यासिफिक ग्रुप (एपिजी) अन मनी लाउन्डरिङको बैठक सकेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वदेश फर्किएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशक हुँदादेखि गभर्नर हुँदासम्म गभर्नर अधिकारी उक्त बैठकमा सहभागी हुँदै आएका छन् ।

प्रत्येक वर्ष आयोजना हुने एपिजीको बैठकमा गभर्नर अधिकारीले नेपाललाई जोगाउन बैठकमा हरेक वर्ष ढाँट्दै आएका छन् । जसले गर्दा नेपाल ‘ग्रे’ लिष्टमा पर्नबाट जोगिँदै आएको पनि छ । सम्पत्ति शुद्धीकरणको सवालमा नेपाललाई सुक्ष्म ढंगले अध्ययन गरिरहेको एपिजीले गत माघमै नेपाललाई ग्रे लिष्टमा राख्ने प्रतिवेदन पेश गरेको थियो ।

यसपटकको बैठकमा पनि गभर्नर अधिकारीले ‘ग्रे लिष्ट’बाट जोगाउन यसै वर्ष कानुनहरु निर्माण हुने आश्वासन दिए । जसका कारण नेपाल ‘ग्रे लिष्ट’मा पर्नबाट जोगियो । एपिजीले खासगरी सम्पत्ति शुद्धीकरणमा वित्तीय अपराध, आतंकवादी र लागुऔषधको गतिविधि सम्बन्धी आर्थिक कारोबारको कुरालाई निगरानीमा राख्ने र अनुगमन गर्दै आएको छ ।

गत माघमा एपिजीले विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गरेको भए पनि नेपालमा कानुनको अभाव देखाएर कालोधनलाई सेतो पार्नेहरु उम्कँदै आएका छन् । सम्पत्ति शुद्धीकरण विभागलाई प्रभावकारीरुपमा सञ्चालन गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेका थिए, तर उनले साढे तीन वर्षे कार्यकालमा एउटा माखोसमेत मार्न सकेनन् ।

उल्टै यस्तो कारोबारमा संलग्न संदिग्ध व्यक्तिहरुलाई संरक्षण गर्दै आए । विगतका बैठकहरुमा गभर्नर अधिकारीले कहिले सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक संसद्मा पेश भएको त कहिले अध्यादेशमार्फत राष्ट्रपतिकहाँ पुगेको ‘ब्रिफिङ’ गर्दै आएको भए पनि उक्त विधेयक अहिलेसम्म पास नहुनु नेपालको लागि लज्जाको विषय हो ।

यस घटनाले नेपालको राजनीतिक दल र माफियाहरुबीच कति घनिष्ट सम्बन्ध छ भन्ने देखाउँछ । प्रतिनिधिसभाबाट पास भएको उक्त विधेयक माफियाहरुले राष्ट्रियसभाबाट रोक्न सफल भए । त्यसपछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश भएको अध्यादेश रोक्न पनि माफियाहरु सफल भए । जसका कारण एपिजीले माघमा कडा प्रतिवेदन पेश गर्दै नेपाललाई ग्रे लिष्टमा राख्न सुझाव दिएको थियो ।

नेपालमा पछिल्लो समय नवधनाढ्यहरुको संख्या बढिरहेको छ, जग्गाको मूल्य आकाशिएको छ, शेयर बजारमा अपारदर्शी लगानी भइरहेको सबैले महसुस गरेको कुरा हो । यसरी रातारात लगानी भित्रनुको मुख्य कारण रेमिट्यान्समार्फत भित्रने कालोधन, भ्रष्टाचार, कर छली र लागुऔषधको व्यापार, सुन तस्करीलगायत नै हो । जसको गहिरो अनुसन्धान भएकै छैन ।

नेपाल लागुऔषध कारोबारको ट्रान्जिट प्वाइन्ट बनेको मात्र होइन, विदेशबाट ठूलो परिणाममा वर्षौँदेखि सुन तस्करीसमेत हुँदै आएको छ । यस्ता गतिविधिले नेपाल तस्करका लागि स्वर्ग बनेको छ । तर, सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनको अभावमा तस्कर, माफियाहरु राज्यबाट संरक्षित हुँदै आएका छन् । राजनीतिक संरक्षणबिना गैरकानुनी धन्दा फस्टाउन सक्दैन भन्ने कुरा स्वयं गभर्नर अधिकारीले भोगेका छन् ।

पृथ्वीबहादुर शाहले अमेरिकाबाट ल्याएको अवैध रकम छोड्न नमान्दा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले २०७८ चैत २५ गते अधिकारीलाई निलम्वन गरेका थिए । यस विषयमा अहिले पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले शाहको निवेदनमा २०७८ चैत १४ गते तोक लगाएरै १४ करोड फुकुवा गर्न आदेश दिएका थिए । शाहको शक्ति कति बलियो थियो भन्ने कुरा गभर्नर अधिकारीको निलम्वनले पुष्टि गर्छ ।

लोकतन्त्रको आवरणमा नेपालमा पछिल्लो पटक फस्टाएको वित्तीय अपराधलाई नियन्त्रण गर्न यसमा संलग्न राजनीतिक संरक्षणका नवधनाढ्यहरुको सम्पत्तिको स्रोतको पहिचान गरिनुपर्छ । नवधनाढ्यहरुको सूची लामै छ । खासगरी रेमिट्यान्स कम्पनीका मालिकहरुले यताको धन उता, उताको धन यता गर्दै कालोधनलाई सेतो बनाउँदै आएका छन् । यस्तो कार्य गर्ने नवधनाढ्यहरु राज्यको शक्तिशाली व्यक्तिसँग सम्पर्क भएकै कारण जोगिँदै आएका छन् । तिनीहरुको वैधानिक स्रोत खोज्ने हो भने नेताहरुको अकूत सम्पत्तिको रहस्य पनि खुल्ने छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार ०९:४१