सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

बिहानैदेखि देशभर वर्षा, कतै बाढी

फाइल तस्वीर

देशका केही भागमा आज भारी वर्षाको सम्भावना रहेको छ । केही क्षेत्रमा गएरातिदेखि नै भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार कोसी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागले आज राति देशभर सामान्य बदली रहने जनाएको छ । सबै प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारी वर्षाको समेत सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

यसैबीच, गएरातिदेखि नै केही स्थानमा भारी वर्षाका कारण बाढी आएको छ । नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको छ । विनयी लगायत स–साना खोलाहरूको बहाव बढेको छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूले सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

तिनाउ नदी बाढी मापन केन्द्र बुटबलमा जलसतहले खतरा तह पार गरेको छ । र, जल सतह अझै बढ्दो क्रममा रहेको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा बस्न मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासको स्थानमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भएर बहने स–साना नदी तथा खोलामा बाढी आएको छ । तिनाउ नदीका सहायक, पश्चिम राप्ती नदीका सहायक नदीहरूमा आकस्मिक बहाव भएकाले जोखिमबाट बच्न सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार ०८:३८