सूचनाको शक्ति - The Power Of Information

        

जानकीमा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्न मासिक दुई हजार

बाँकेको जानकी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई प्रोत्साहन गर्न मासिक दुई हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले महिला स्वास्थ्य स्वयंसेविकाको कामको मूल्याङ्कनको आधारमा यही श्रावण महिनादेखि लागू हुने गरी मासिक दुई हजार रुपैयाँ दिने निर्णय गरिएको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले गाउँपालिकाका १ देखि ६ वटै वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन रकम उपलब्ध गराउन चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमा १९ लाख ४४ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

गाउँपालिकाले मासिक दुई हजार रुपैयाँ दिने निर्णय गरेपछि त्यसको स्वागत गर्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफूहरूलाई घरखर्च चलाउन पुग्ने गरी थप बजेटको व्यवस्था गरिदिन माग गरेका छन् ।

अब महिला स्वास्थ्य स्वयंसेविकाले सङ्घीय सरकारबाट वार्षिक पोशाक खर्चबापत १० हजार, मासिक एक हजार र गाउँपालिकाबाट मासिक थप दुई हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

जानकी गाउँपालिकाका वडा १ देखि ६ सम्म ८१ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १९:१६