नेपाली सेना तथा सशस्त्र प्रहरीमा राशनलाई लिएर आइरहने विवाद नौलो होइन । तर, पटक–पटक यस्ता विषय उठान भए पनि सुधारको लक्षण भने देखिँदैन । सरकारले उपलब्ध गराएको राशनमा समेत कमिसन खोजेर कमसल खाना दिएपछि गोरुसिंगेस्थित समशेर दल गणका केही सिपाहीले दुखेसो पोखेका छन् ।
‘गुणस्तर एकदमै घटाइएको छ, अरु केही नगरे पनि खाना त राम्रो दिए हुने नि !’ समशेर दल गणका एक सिपाहीले भने । गणपति प्रमुख सेनानी दिपक घले र सुवेदार मेजर शेरबहादुर चन्द मिलेर सेवा–सुविधासमेत कटौती गरेको बताइन्छ ।
‘सर्कुलरमा मेसमा ग्यास प्रयोग गर भन्छन् तर दाउरामै पकाइन्छ, ग्यास त बिलमा मात्र आउँछ, चामल मोटा, दाल मक्किएको, तरकारी जे सस्तो त्यही, जेठभरि त बन्दा र आलु मात्रै खुवाइयो,’ उनीहरूले भने । कार्यालय, जवान ब्यारेक, अधिकृत ब्यारेक, निवासका भित्ता धुन र पखाल्न लगाएर बाहिरबाट पेन्टको बिल ल्याई भुक्तानसमेत गरेको उनीहरूको गुनासो छ ।
सुवेदार मेजर शेरबहादुर चन्द आफैँ जेठ–असारमा पसल–पसलमा भ्याट बिल माग्दै हिँडेको प्रसंग स्थानीय व्यवसायीले समेत निकालेका छन् । भ्याटको पैसा दिन्छु भन्दै टायल मार्बल, फर्निचर, पेन्ट पसल, स्टेशनरी, इलेक्ट्रोनिक्स तथा कम्प्युटर पसलमा गई बिल लैजाने गरेको केही व्यापारीले गुनासो गरे ।
‘खरिद नै नभई कसरी बिक्री बिल दिनु ? नदिए कारोबार गर्दैनौं भन्छन्, दिए १५ प्रतिशत भ्याट मात्र लिएर के गर्नु, उल्टै थप तिर्नुपर्छ ।’ सामान नलैजान विल मात्र माग्ने गरेको हुँदा स्थानीय व्यापारीसमेत गणप्रति सन्तुष्ट छैनन् । सुवेदार मेजरको जिम्मा रहेको तीन साताअघिको वार्षिकोत्सव कार्यक्रममा समेत तल्लो दर्जा सन्तुष्ट देखिएको एक सिपाहीले बताए ।
वार्षिकोत्सवलाई तोकिएको खर्चबाट कमिसन जोगाउन सुेबदार मेजरले परिवारका सदस्यलाई बडाभोजमा बोलाउँदा नाता प्रमाणित मागिएको थियो । ‘अब श्रीमतीलाई १ छाक भोज खुवाउन जिल्ला गई नाता प्रमाणित बनाएर ल्याउनुपर्ने भएपछि किन भोज खुवाउन लैजानु भनेर लगिन’ उनले भने ।
यसअघिका वार्षिकोत्सवमा भने यस्तो नभएको उनीहरूको भनाइ थियो । राशन बचाउन अधिकांश सिपाहीलाई मौखिक बिदासमेत दिने गरेको उनीहरूको दाबी थियो । सञ्चारमाध्यमहरुमा समाचार आएपछि गणको राशन र सुशासन दुबै सुधार हुन सक्ने उनीहरूको अपेक्षा छ ।
सत्यपाटी संवाददाता । काठमाडौं