सूचनाको शक्ति - The Power Of Information

        

किन बन्द भयो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ ?

नेपाल टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारण भइरहेको चर्चित कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ केही समयका लागि बन्द भएको छ । शोका निर्देशक तथा होस्ट विशाल भण्डारीका अनुसार शो चार महिनाको लागि बन्द गरिएको हो ।

‘लगातार शो चलाइरहँदा क्रियटिभ कुरामा कमी आउँछ । त्योभन्दा केही महिना शो बन्द गरेर केही नयाँ प्रस्तुति लिएर आऊ भन्ने हाम्रो योजना हो । यो अवधिमा हामी कमेडी च्याम्पियन सिजन ३ लिएर आउँछौं,’ उनले भने ।

उक्त कार्यक्रमको अन्तिम भागमा फिल्म ‘मेयर साप’को विषयमा बिक्कीले आफ्नो प्रस्तुति दिएका थिए । ‘कमेडी क्लब विथ च्याम्पियन्स’को पहिलो सिजनमा ६९ औं एपिसोड नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो ।

विक्की अग्रवालले निर्देशन गरेको शोमा सुमन कार्की, कैलाश कार्की, पवन भट्टराई, उषा रजक, उमेश राई, साजन श्रेष्ठ, मेक्सम गौडेलले प्रस्तुति दिँदै आएका थिए । एड्भटाइजिङ र थर्ड आई प्रोडक्सनसँग मिलेर निर्माण गरिएको शो अध्यक्षमा दीपाश्री निरौला थिइन् ।

१६ महिना अघिदेखि सुरु भएको ‘कमेडी क्लब विथ च्याम्पियन्स’ शोका कलाकारहरुले विभिन्न विषयमा कमेडीमार्फत दर्शकलाई हँसाउने प्रयास गर्दै आएका थिए । तर दर्शकलाई हँसाउने अथक प्रयासका बावजुत पनि उक्त सो सुरुवातबाट नै विभिन्न आरोप खेप्दै आएको थियो ।

केहि समयअघिमात्र शोका प्रस्तोता विशाल भण्डारी र कमेडियन विक्की अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरीसमेत परेको थियो । फिल्म निर्देशक राजु गिरीले आफूले बनाउन लागेको फिल्मको विषयमा जथाभाबी कन्टेन्ट बनाएको भन्दै उजुरी नै दिएका थिए ।

त्यस्तै सोहि शो कै कुनै एक कार्यक्रममा गन्धर्वको प्रस्तुतिलाई लिएर गन्धर्व समाजले पनि आपत्ति जनाएको थियो । सोमा गन्धर्व बनेर प्रस्तुत हुने पवन भट्टराईको प्रस्तुतिले आफूहरूलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै गन्धर्व समाजले आक्रोस पोखेको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १६:०८