सूचनाको शक्ति - The Power Of Information

        

डीएसपी ठगबहादुरलाई बर्खास्त गर्न गृहमा सिफारिस

तत्कालिन डिएसपी ठगबहादुर केसी

सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरितको कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार, प्रहरी प्रधान कार्यालयबाट भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी पत्र गइसकेपनि गृहबाट निर्णयबारे जानकारी आइसकेको छैन ।

बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो । लगत्तै छानबिनका लागि तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो ।

समितिले केसीलाई फौजदारी कसूर अन्तरगत छानबिन गर्न सिफारिस गरेपनि आन्तरिक छानबिन मात्र भएको थियो । अहिले पनि प्रहरी प्रधान कार्यालयले गृहमा उनलाई बर्खास्त गर्न सिफारिससहित पत्राचार गरेको एक महिना पुग्न लागेपनि गृहले कुनै निर्णय गरेको छैन ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १५:४१