सूचनाको शक्ति - The Power Of Information

        

गुटले गिजोलिएको कांग्रेसमा बृहत् एकता बहस

‘कांग्रेस एक मिसन, एक लक्ष्यका साथ प्रस्तुत हुन्छौं कि हुँदैनौं ? कांग्रेसको अगाडि ठूलो र ज्वलन्त प्रश्न र छलफलको आवश्यकता छ।

हामी कार्यक्रम गर्छौं, पटकपटक गरौंला। तर, एउटा समूहको कार्यक्रम हुने, एउटा गुटको कार्यक्रम हुने भयो भने हामीले प्राप्त गर्न खोजेको लक्ष्य पूरा हुँदैन।’ नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य प्रकाशशरण महतले जारी केन्द्रीय समितिको बैठकमा राखेको अभिव्यक्ति हो यो।

मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा महतले मात्र होइन, आफ्ना धारणा राखेका धेरै केन्द्रीय सदस्यले पार्टीमा संस्थाभन्दा व्यक्ति हाबी भएको भन्दै गुनासो गरे।

त्यति मात्र होइन, पार्टीभित्र मौलाएको गुटबन्दी अन्त्यका लागि जोड दिँदै उनीहरूले भनेका छन्, ‘हामीभित्र मजबुत एकता कायम हुन सक्यो भने कांग्रेसलाई कसैले परास्त गर्न सक्दैन।’

तर, पार्टीभित्र बृहत् एकता र गुटबन्दी अन्त्यको वकालत गर्ने केन्द्रीय सदस्यहरू आफैं विभिन्न गुट र उपगुटबाट प्रभावित भएर बैठकमा धारणा राख्न पनि छाडेका छैनन्।

आफू र आफूनिकट नेता र गुटको बचाउ गर्ने, अर्को समूह र नेताको विपक्षमा मत राख्ने प्रवृत्तिले बैठकको सुरुकै दिनदेखि आइतरबारसम्म निरन्तरता पाइरहेको छ। तर सबै नेताले गुटबन्दी अन्त्य र पार्टीभित्रको एकताको कुरामा जोड दिन भने छाडेका छैनन्।

आफू संलग्न गुटलाई बलियो बनाई अर्को गुटलाई कमजोर पार्न नेताहरू निरन्तर सक्रिय छन्।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार ०८:३३