सूचनाको शक्ति - The Power Of Information

        

त्रिविमा एक महिनादेखि तालाबन्दी

कीर्तिपुरवासीले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको एक महिना पुगिसक्दा पनि ताला खोल्ने विषमा दुवै पक्षबीच सहमति हुन सकेको छैन ।

त्रिभुवन विश्वविद्यालय पीडित संघर्ष समितिले असार ७ गते त्रिविका उप कुलपति, रेक्टर र रजिस्टारको मूलगेटमा तालाबन्दी गरेका थिए ।

तालाबन्दीपछि त्रिवि र समितिबिच करिब ५ पटक वार्ता हुँदा पनि सहमति हुन सकेको छैन । त्रिवि वार्ता समितिका संयोजक एवं त्रिवि अनुगमन निर्देशनालयका उपनिर्देशक उपप्राध्यापक विष्णुप्रसाद वाग्लेले वार्ता भएर ७ बुँदे सहमति भए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले छिट्टै टुङ्गो लगाउन भनेका छौं तर, उहाँहरू मान्न तयार दखिनुभएको छैन ।’

संघर्ष समितिले वि.सं. २०७२ असार २२ गते तत्कालीन उपकुलपति प्राडा हिराबहादुर महर्जन र पदाधिकारीबीच भएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्न दवाव दिएको छ ।

संघर्ष समितिका संयोजक देव महर्जनले सम्झौता भएको ८ वर्ष बिति सक्दा पनि माग पूरा गर्ने विषयमा तदारुकता नदेखाएपछि बाध्य भएर तालाबन्दी गरेको बताउनुभयो ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार ०८:०७