जिल्ला प्रशासन कार्यालय बाँकेले जन्मको आधारमा नागरिकता लिएकाहरूका सन्तानलाई एक हजार ६०० नागरिकता वितरण गरिसकेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले हालसम्म जन्मको आधारमा नागरिकता पाएकाहरूका एक हजार ६०० जना सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण गरि सकिएको बताए ।
उनले जन्मको आधारमा नागरिकता लिएकाहरूको छोराछोरीलाई वंशजको नागरिकता वितरण सुरु गरिएपछि सेवाग्राहीको अत्यधिक भीड लाग्दा एक दिनमा १०० जनालाई मात्र टोकन वितरण गरेर नागरिकताको कागजपत्र जम्मा गर्न थालेको जानकारी दिए ।
सुरुमा नागरिकता लिनेको भीड धेरै देखिए पनि टोकन प्रणाली सुरु भएसँगै बिस्तारै भीड घट्दै गएको र दैनिक १०० जनालाई टोकन वितरण गरिएकोमा नागरिकता लिन आउने दैनिक ७० जनाको हाराहारीमा रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
जन्मको आधारमा नागरिकता पाएका नेपाली नागरिकका सन्तानलाई गत असार १० गतेबाट वंशजको आधारमा नागरिकता वितरण सुरु गरिएको थियो । प्रजिअ आचार्यका अनुसार टोकन प्रणाली सुरु गरिएपछि सेवाग्राहीलाई सहज भएको र सोबाट आफूले कहिले नागरिकता पाउने जानकारी हुने गरेकाले दिनदिनै प्रशासन धाउनुपर्ने बाध्यता हटेको छ ।
लामो प्रतीक्षापछि वंशजको नागरिकता पाएका जिल्लाका अधिकांश युवा निकै खुसी देखिएका छन् । जिल्ला प्रशासनका अनुसार बाँकेमा मात्रै १० हजार बढीले टोलीबाट जन्मको आधारमा नागरिकता लिएका थिए । उनीहरूका करिब २५ हजार सन्तानलाई वंशजको नाताले नागरिकता वितरण गर्नुपर्नेछ ।
सत्यपाटी संवाददाता । बाँके