सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका ३५ हजार बढी चौपाया ‘लम्पी स्किन’ रोगबाट प्रभावित

बाँकेमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट ३५ हजारभन्दा बढी पशु चौपाया प्रभावित भएका छन् । जिल्लामा सो रोगको सङ्क्रमण तीव्र गतिमा फैलिने क्रममा रहेको चिकित्सकको भनाइ छ । बाँकेमा ३५ हजारभन्दा बढी पशु चौपाया सो रोगबाट सङ्क्रमित छन् ।

‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट करिब १७५ वटा गाईभैँसी मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका अधिकृत तथा पशु चिकित्सक डा. रुपेन्द्रकुमार ओलीले जिल्लामा तीव्र गतिमा ‘लम्पी स्किन’ को सङ्क्रमण फैलिएकाले संक्रमतिको सङ्ख्या अझै बढी हुन सक्ने बताए ।

पालिकाबाट तथ्याङ्क आउने क्रम जारी रहेको जनाउँदै हालसम्मको अवस्था हेर्दा ३५ हजार बढी पशुचौपाया बिरामी परेको र करिब १७५ भन्दा बढी मरिसकेको बताए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लामा गत चैतबाट उक्त रोगको सङ्क्रमण सुरु भएको जनाउँदै भ्याक्सिन आउन ढिलाइ भएका कारण पनि रोग धेरै पशुमा फैलिएको जनाएको छ ।

नेपाल भेटेरिनरी एसोसिएसनका सचिव डा. शङ्कर न्यौपानेले सङ्क्रमणबाट ठुलो सङ्ख्यामा पशु चौपाया सङ्क्रमित भएपछि जिल्लाका किसान चिन्तित देखिएको बताए । सचिव डा.न्यौपानेले पशुलाई ज्वरो आउनु, शरीर र मुखमा फोकाजस्ता खटिरा निस्कनु, श्वासप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घट्नु र गर्भ तुहिनु सङ्क्रमणको मुख्य लक्षण भएको जानकारी दिए ।

तीन हजार बढी पशुलाई भ्याक्सिन

जिल्लामा तीव्र गतिमा लम्पी स्किन फैलिएपछि केन्द्रबाट आएको भ्याक्सिन लगाउने र बिरामी पशुको उपचार दुवै कार्य अहिले आठ वटै पालिकामा तीव्र गतिमा भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जले जनाएको छ । सो कार्यालयका अनुसार हालसम्म ६ वटा पालिकाका तीन हजारभन्दा बढी पशु चौपायालाई लम्पी स्किनविरुद्धको भ्याक्सिन लगाइसकिएको छ ।

भ्याक्सिन लगाउने क्रम जारी छ । पशु चिकित्सक ओलीले जिल्लाका ६ वटा पालिकालाई करिब पाँच हजार भ्याक्सिन पठाइसकिएको जनाउँदै थप दुई पालिकाले आजैबाट भ्याक्सिन लगाउन सुरु गरिएको बताए । खजुरा, जानकी, बैजनाथ, कोहलपुर, नरैनापुर र नेपालगन्जमा भ्याक्सिन लगाउने कार्य भइरहेको जनाउँदै राप्तीसोनारी र डुडुवामा आजै सुरु भएको बताए ।

भ्याक्सिन लगाउने र उपचार गर्ने कार्यका लागि स्थानीय तहका प्राविधिक र जिल्लाबाट पठाइएका प्राविधिक खटिएको पनि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जले जनाएको छ । केन्द्रकाअनुसार बाँकेमा करिब एक लाखको हाराहारीमा भैँसी र ६० हजारको हाराहारीमा गाई छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतवार १७:१९