सूचनाको शक्ति - The Power Of Information

        

प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा दायर

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडासहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत खतिवडासहित तत्कालीन वडाध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृतकुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिलकुमार बुढाथोकीविरुद्ध मुद्दा दायर भएको हो । उनीहरुविरुद्ध चार लाख ७७ हजार ८९९ रुपैयाँ भ्रष्टाचार आरोप लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहाल जानकारी दिए ।

उपभोक्ता समितिका अध्यक्ष डिककुमार धमला, सचिव दीपकप्रसाद धमला, कोषाध्यक्ष गोठी माया मगर, नेपाल विद्युत प्राधिकरण ओखलढुङ्गा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, भण्डार प्रमुख वीरबहादुर राई र नमामी सप्लायर्सका प्रोप्राइटर सञ्जीव कुमार यादवले खरिद नै नगरिएको सामग्री आयोजना सुरु हुनुभन्दा अघिको मिति राखी बिलमार्फत गरेको आरोप लागेको आयोगले जनाएको छ ।

यस्तै, आयोगले धनुषाको थुम्हौनास्थ्ति नवयुवक आधारभूत विद्यालयमा कार्यरत शिक्षक सीता कुमारी यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको बताएको छ । यादवले अस्थायी राहत शिक्षक दरबन्दीमा नियुक्ति हुँदा बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट मध्यमा तहमा उत्तीर्ण गरेको झुट्टा शैक्षिक योग्यता पेस गरी भ्रष्टाचार गरेको आरोप लागेको हो ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतवार १७:०९