सूचनाको शक्ति - The Power Of Information

        

अब नेपालगन्जमै मिर्गौलाको ‘बायोप्सी’ सेवा

पश्चिम नेपालमै पहिलो पटक नेपालगन्जमा मिर्गौला सम्बन्धी रोगको विस्तृत जानकारी पाउने रेनल बायोप्सी सेवा सुरु गरिएको छ । मिर्गौलाका बिरामीको उपचार गर्दै आएको नेपालगन्जस्थित लाइफलाइन जनरल अस्पतालमा सो सेवा सुरु गरिएको हो ।

लाइफलाइन जनरल अस्पताल नेपालगन्जका प्रमुख मिर्गौला रोग विशेषज्ञ डा.पारस श्रेष्ठका अनुसार बुटवलदेखि पश्चिममा पहिलो पटक नेपालगन्जमा मात्र मृगौलाका बिरामीको उपचारमा थप सहजता ल्याउन यो सेवा सुरु गरिएको हो ।

उनले हालसम्म यो सेवा नेपालगन्ज लगायत यस क्षेत्रका अन्य कुनै पनि अस्पतालमा नरहेको जनाउँदै यो सेवाबाट मिर्गौलामा भएको समस्या, सो को निदान र उपचार गर्न आवश्यक जानकारी प्राप्त हुने बताए ।

मृगौला रोग विशेषज्ञ डा.श्रेष्ठले पिसाबबाट धेरै प्रोटिन जानु, कम उमेरमै मिर्गौलामा समस्या देखिनु लगायत मिर्गौला सम्बन्धी अन्य विभिन्न समस्याका कारण बायोप्सी सेवाबाट थाहा हुने बताए ।

यो सेवा अन्तर्गत मिर्गौलाको सानो टुक्रालाई शरीरबाट निकालेर जाँचका लागि बाहिर ल्याबमा पठाइने र रिपोर्ट आएपछि उपचार सुरु गरिने गरिन्छ । लाइफलाइन जनरल अस्पतालका अनुसार नेपालगन्जबाट गरिएको बायोप्सीको जाँच भारतको नयाँ दिल्लीस्थित लाल प्याथ ल्याबमा पठाएर गराउने गरिएको छ ।

त्यसको रिपोर्ट आउन १४ दिन लाग्ने गरेको छ । अस्पतालका प्रमुख डा.श्रेष्ठले हालसम्म बर्दियाका दुई र बाँकेका दुई गरेर चार जनाको बायोप्सी गरिएको जनाउँदै जाँचका लागि दिल्ली पठाइएकोमा रिपोर्ट कुरिरहेको बताए । हालका लागि महिनामा दुई पटक मात्र सो अस्पतालमा बायोप्सी गर्ने गरिएको छ ।

डा.पारस श्रेष्ठ, डा.क्रिस्टी श्रेष्ठ र पाटन अस्पतालका डा.विमल पाण्डे गरेर तीन जना चिकित्सकको टोलीले बायोप्सी गर्ने गरेको अस्पतालले जनाएको छ । हालसम्म यहाँ सो सेवा नहुँदा बिरामीलाई बायोप्सीका लागि बुटवल, काठमाडौं वा भारतको लखनउ जानुपर्ने बाध्यता रहेकोमा अब सो बाध्यताको अन्त्य भएको बिरामीले जनाएका छन् ।

एक्कासी मिर्गौलामा समस्या देखिएका बर्दिया राजापुरका एक जना बिरामीले नेपालगन्जमै बायोप्सी सुरु गरिएपछि बाहिर गएर धेरै पैसा र समय खर्चिनुपर्ने बाध्यता समाप्त भएको बताए । उनले आफूले नेपालगञ्जमै बायोप्सी गराएको जनाउँदै रिपोर्ट कुरिरहेको पनि बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतवार १६:४८