सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई खुवाइरहेको दिवा खाजाका लागि रकम अपुग भएको छ । बजेट भाषणमा प्रारम्भीक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने घोषणा गरिएको छ । तर अर्थ मन्त्रालयले रकम कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै खाजा खान पुग्ने गरी छुट्याएकाले यस्तो अवस्था आएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत दिवा खाजाका लागि आठ अर्ब ४५ करोड रुपैयाँ छुट्याएको छ । मन्त्रालयको नीति तथा कार्यक्रम शाखाका उपसचिव घनश्याम अर्यालका अनुसार सोही रकम स्थानीय तहमा पठाइएको छ । तर यो रकमले कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा खान पुग्छ । कक्षा ६ का विद्यार्थीलाई पनि खाजा खुवाउने हो भने थप एक अर्ब रुपैयाँ चाहिन्छ ।
गत वर्ष पनि सरकारले बजेट भाषणमार्फत नै कक्षा ६ का विद्यार्थीलाई पनि दिवा खाजा दिने घोषणा गरेको थियो । तर अर्थ मन्त्रालयले कक्षा ५ सम्मका विद्यार्थीका लागि मात्रै रकम उपलब्ध गराएको थियो । कक्षा ६ का विद्यार्थीका लागि थप चाहिने एक अर्ब १५ करोड रुपैयाँ पनि अर्थ मन्त्रालयबाट अझै नआएको उपसचिव अर्यालले जानकारी दिए । उक्त रकम मन्त्रालयले सोधभर्ना गरेर विद्यालयलाई पठाएको छ ।
अर्थ मन्त्रालयका उपसचिव धु्रव पण्डेले गत वर्ष लक्ष्य अनुसार राजस्व सङ्कलन नभएको र खर्च कटौती गर्नुपर्ने अवस्था आएका कारण शिक्षा मन्त्रालयले मागे अनुसारको रकम उपलब्ध गराउन नसकिएको बताए । ‘बजेट भाषण गर्दा राजस्व सङ्कलनमा सुधार होला र दिवा खाजाको रकम पनि थप्दै जाऔँला भन्ने योजना अर्थ मन्त्रालयको थियो । तर राजस्व सङ्कलन लक्ष्य अनुसार नभएपछि शिक्षालाई थप रकम दिन सकेनौँ,’ उनले भने ।
यस हिसाबले हेर्दा कक्षा ६ का विद्यार्थीलाई गत वर्ष नै रकम दिन नसकेका कारण चालु वर्षको बजेट भाषणमा आएको ‘दिवा खाजा कार्यक्रमलाई गत वर्षकै निरन्तरता’ भनेको कक्षा ५ सम्मलाई मात्रै हो कि कक्षा ६ लाई पनि हो भन्ने विषय स्पष्ट भएको छैन । यस पटक पनि बजेटमा एकथरि घोषणा गर्ने तर व्यवहारमा अर्कै गर्ने प्रवृत्तिका कारण समस्या आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका योजना महाशाखाका सहसचिव डा.हरिप्रसाद लम्सालले दिवा खाजा कार्यक्रमको लागि अपुग रकम उपलब्ध गराइदिन अर्थ मन्त्रालयमा पत्राचार गरिएको बताए । ‘स्थानीय तहले आफूले पाएको रकमबाट कक्षा ६ सम्मकै विद्यार्थीलाई खाजा खुवाइरहेका छन् । फेरि सरकारले बजेटमा पनि यो कुरा उल्लेख छ,’ उनले भने, ‘अहिले आएर कक्षा ६ का विद्यार्थीलाई खाजा खुवाउन सकिँदैन भन्न मिल्दैन । अर्थ मन्त्रालयको जवाफ प्राप्त भएपछि थप छलफल गर्नुपर्छ ।’
सरकारले आर्थिक वर्ष २०७८–०७९ सम्म कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा उपलब्ध गराएको थियो । यस कार्यक्रमलाई विस्तार गर्ने भन्दै आर्थिक वर्ष २०७९–०८० देखि भने कक्षा ६ का विद्यार्थीलाई पनि खाजा खुवाउने घोषणा गरेको थियो । तर सोही वर्षको बजेट भाषणमा दिवा खाजाको रकम भने कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै पुग्ने गरी छुट्याएको थियो ।
बजेटमार्फत गरिएको घोषणा अनुसार रकम उपलब्ध गराइदिन मन्त्रालयले यसअघि पनि पटक पटक अर्थ मन्त्रालयलाई पत्राचार गरे पनि रकम प्राप्त भएको छैन । दिवा खाजा कार्यक्रम अनुसार हरेक विद्यार्थीलाई वर्षमा दुई हजार सात सय उपलब्ध गराइन्छ । यो भनेको दैनिक १५ रुपैयाँको दरले १८० दिनलाई दिइएको दिवा खाजा हो ।
सत्यपाटी संवाददाता । काठमाडौं