सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका अर्थमन्त्री सबैभन्दा धनी

कर्णाली प्रदेश सरकार तीन मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । कर्णाली प्रदेशमा कांग्रेसबाट मन्त्री भएका तीन जना मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

कांग्रेसबाट मन्त्री भएका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल, अर्थमन्त्री बेदराज सिंह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

गत वैशाख ७ गते मन्त्री नियुक्त भएका उनीहरुले ९४ दिनपछि सम्पत्ति सार्वजनिक गरेका हुन् । सम्पत्ति विवरण सार्वजनिक गर्ने कर्णाली प्रदेशका तीन मन्त्रीमध्ये अर्थमन्त्री सिंह सबैभन्दा धनी देखिएका छन् ।

अर्थमन्त्री बेदराज सिंह

विवरणअनुसार जाजरकोटको बारेकोट निवासी सिंहसँग सोही गाउँपालिकाको वडा नं–८ मा पुर्ख्यौली २ वटा घर छन् । यस्तै भेरी नगरपालिका–३ मा साढे तीन तलाको पक्की घर छ ।

त्यस्तै सिंहको नाममा बारेकोट–८ मै ३ रोपनी जग्गा छ भने बाँकेको कोहलपुर–६ मा १.५ कट्टा जमिन पनि उनैको नाममा रहेको छ । चल सम्पत्तिमा सिंहसँग २० तोला सुन र १५ तोला चाँदी रहेको छ ।

यस्तै उनले ऋण सापट र अन्य स्रोतबाट जाजरकोटमा रहेको लक्ष्मी बैंकमा २ लाख रकम मौज्दात रहेको र एनएमबि बैङ्क सुर्खेतमा सेवा सुविधा बापतको १ लाख रकम मौज्दात रहेको उल्लेख गरेका छन् । उनले धितो पत्र, शेयर वा ऋणपत्र विवरण शीर्षकमा शेयर लगानी उल्लेख गरे पनि कुन कम्पनी भन्ने उल्लेख गरेका छैनन् ।

उनीसँग ६० लाख मूल्यपर्ने इसुजु हाइलेण्डर गाडी, ३२ लाख पर्ने बोलेरो जिप, २ लाख ५ हजार बराबरको स्कुटर र २ लाख मूल्यका विभिन्न १० वटा मोबाइल रहेको विवरणमा उल्लेख गरिएको छ ।

सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल

मन्त्री पोखरेलसँग पनि प्रशस्त सम्पत्ति रहेको देखिएको छ । सुर्खेतको सिम्ता निवासी पोखरेलसँग सिम्ता–६ मा एउटा घर र सिम्तामै विभिन्न ९ ठाउँमा जग्गा रहेका छन् । उनीसँग २५ तोला सुन ६० तोला चाँदी रहेको छ ।

सुनमा १० तोला ९ लाख ५० हजारमा खरिद गरिएको र बाँकी पैतृक सम्पत्ति र चाँदी ३५ तोला ४० हजारमा खरिद गरिएको र बाँकी पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् । मन्त्री पोखरेलसँग लक्ष्मी बैङ्क सुर्खेतमा १ लाख ७० हजार रकम मौज्दात छ ।

उनले १ भैँसी र ३० वटा कुखुरा पालन गरिरहेका छन् । साथै उनीसँग २५ हजारको मोबाइल, ४० हजारको टिभी २८ हजारको फ्रिज र २५ हजारको घडी रहेको विवरणमा उल्लेख छ ।

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसी

मन्त्री बिसीसँग दैलेख गुराँस गाउँपालिका–६ मा ३ हजार ७८० वर्ग मिटर क्षेत्रफलमा घर रहेको छ भने वीरेन्द्रनगरमा २ ठाउँमा उनको घर छ । त्यो सबै पुर्ख्यौली सम्पत्ति रहेको उनले विवरणमा उल्लेख गरेका छन् ।

यस्तै उनीसँग विभिन्न ६ ठाउँमा जग्गा जमिन रहेको छ । उनको नाममा गुराँस गाउँपालिका–६ मा तीन ठाउँमा र वीरेन्द्रनगरका दुई ठाउँमा घडेरी रहेको छ । उनीसँग १५ तोला सुन, ३० तोला चाँदी र १५ केजी तामा रहेको छ ।

उनको तीन वटा बैंकमा गरी ४ लाख २ हजार बराबर रकम मौज्दात रहेको छ । साथै उनले त्यो भन्दा बढी ऋण रहेको उल्लेख गरेका छन् । राष्ट्रिय वाणिज्य बैङ्कबाट उनले २० लाख ऋण लिएको र अहिलेसम्म ११ लाख ऋण तिरेका छन् ।

एनएमबि बैकबाट पनि उनले २० लाख नै ऋण लिएका थिए । त्यसमध्ये अहिलेसम्म १ लाख बराबर ऋण तिरिसकेका छन् भने बाँकी उनीसँग २८ लाख ऋण छ । उनीसँग कुनै सवारी साधन छैन ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतवार ११:५५