सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा जन्मको आधारमा १६ सय नागरिकता वितरण

जिल्ला प्रशासन कार्यालय बाँकेले जन्मको आधारमा नागरिकता लिएकाहरूका सन्तानलाई एक हजार छ सय नागरिकता वितरण गरिसकेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले हालसम्म जन्मको आधारमा नागरिकता पाएकाहरूका एक हजार छ सयजना सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण गरिसकिएको बताउनुभयो ।

उहाँले जन्मको आधारमा नागरिकता लिएकाहरूको छोराछोरीलाई वंशजको नागरिकता वितरण सुरु गरिएपछि सेवाग्राहीको अत्यधिक भीड लाग्दा एक दिनमा सय जनालाई मात्र टोकन वितरण गरेर नागरिकताको कागजपत्र जम्मा गर्न थालेको जानकारी दिनुभयो ।

सुरुमा नागरिकता लिनेको भीड धेरै देखिए पनि टोकन प्रणाली सुरु भएसँगै बिस्तारै भीड घट्दै गएको र दैनिक सय जनालाई टोकन वितरण गरिएकोमा नागरिकता लिन आउने दैनिक ७० जनाको हाराहारीमा रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

जन्मको आधारमा नागरिकता पाएका नेपाली नागरिकका सन्तानलाई गत असार १० गतेबाट वंशजको आधारमा नागरिकता वितरण सुरु गरिएको थियो ।

प्रजिअ आचार्यका अनुसार टोकन प्रणाली सुरु गरिएपछि सेवाग्राहीलाई सहज भएको र सोबाट आफूले कहिले नागरिकता पाउने जानकारी हुने गरेकाले दिनदिनै प्रशासन धाउनुपर्ने बाध्यता हटेको छ ।

लामो प्रतीक्षापछि वंशजको नागरिकता पाएका जिल्लाका अधिकांश युवा निकै खुसी देखिएका छन् । जिल्ला प्रशासनका अनुसार बाँकेमा मात्रै १० हजार बढीले टोलीबाट जन्मको आधारमा नागरिकता लिएका थिए । उनीहरूका करिब २५ हजार सन्तानलाई वंशजको नाताले नागरिकता वितरण गर्नुपर्ने छ ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : ७ श्रावण २०८०, आइतवार ११:०२