सूचनाको शक्ति - The Power Of Information

        

गलत समाचार लेख्ने पत्रकारबाट तीन करोड जरिवाना !

गलत समाचार लेखेको ठहर गर्दै भारतको दिल्ली उच्च अदालतले तहलका डटकम तथा त्यसमा सम्बद्ध तीन पत्रकारबाट तीन करोड २० लाख (दुई करोड भारतीय रुपैयाँ) भराउन आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश नीना वंशल कृष्णाको इजलाशले तहेल्काका पत्रकारहरू तरुण तेजपाल, अनिरुद्ध भेल र म्याथ्यु सामुएल तथा तेहेल्का डटकमलाई क्षतिपूर्ति तिर्न आदेश दिएको हो । उनीहरूबाट सेवा निवृत्त सैनिक अधिकृत एमएस अलुवालियालाई क्षतिपूर्ति स्वरुप उक्त रकम भराउने आदेश दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सन् २००१ मा मेजर जनरल अलुवालियाले सैन्य सामग्री खरीदमा भ्रष्टाचार गरेको आरोप लगाउँदै तहलको डटकमले ‘स्टिङ अप्रेशन’ गरेर खरीद सम्बन्धी विवरण सार्वजनिक गरेको थियो । तहलको सार्वजनिक गरेका समाचार सामग्री गलत रहेको र त्यसबाट आफ्नो मानहानी भएको जिकिर गर्दै जनरल आलुवालियाले उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

उनीमाथि प्रतिरक्षा सामग्री आयातमा ठूलो घोटाला गरिएको आरोप लगाइएको थियो । प्रतिरक्षा उपकरण उत्पादक बेलायती कम्पनीका नक्कली बजार प्रतिनिधि बनेर तेहेल्काका दुई जना पत्रकारले ‘स्टिङ अप्रेशन’ गरेका थिए । उनले एक शिशी ब्ल्यू लेबल ह्विस्की र दश लाख घूस मागेको श्रव्य सामग्री तहलको प्रसारण गरेको थियो । समाचार प्रकाशित हुनेबित्तिकै भारतीय सेनाले जनरल आलुवालियामाथि छानबिन थालेको थियो ।

छानबिनबाट प्रसारित श्रव्य सामग्री असत्य भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थियो । यसमा तहलका र पत्रकारहरूले अदालतमा क्षमा याचना पनि गरेका थिए । तर, न्यायाधीश कृष्णाले भ्रामक समाचारबाट पीडितको चरित्र हत्या भएको सार्वजनिक मानप्रतिष्ठामा ठूलो आघात पुगेको तथा क्षमा याचनाबाट त्यो आघात नमेटिने भएकाले क्षतिपूर्ति भर्न आदेश दिएकी हुन् ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतवार १०:३३