सूचनाको शक्ति - The Power Of Information

        

जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा घरमा आगजनी

फाइल तस्वीर

जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहद्वारा सात वटा घरमा आगजनी गरेका छन् । सो गाउँपालिका–४ स्थित विभिन्न गाउँका सातवटा घरहरुमा आगजनी भएको वडाध्यक्ष टिकादत्त न्यौपानेले जानकारी दिए ।

वडाध्यक्ष न्यौपानेका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडानन्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने र डाँडाबाडाका कविदत्त न्यौपाने, दलिबाडाका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैशीको घरमा अज्ञात समूहले आगो लगाउँदै हिडेको देखिन्छ ।

धिता र देपालगाउँमा पनि यस्तो घटना भएको जानकारीमा आएको छ । सडकमा पार्किङ गरि राखेको ट्याक्टरमा समेत आगो लगाइएको छ । सबैभन्दा धेरै डाँडाबाडाका कविदत्त न्यौपानेको घरमा क्षति भएको वडाध्यक्ष न्यौपानेले बताए ।

आगो लागेका घरमा समयमै थाहा पाउँदा अधिकांश घरहरु क्षति हुन बाट जोगिएका छन् । प्रहरीले गएराती ११ बजेतिर आगो लागेको सूचना पाएलगत्तै जिल्लाबाट प्रहरीको टोली खटाइएको जुम्लाका प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले जनाए ।

‘विभिन्न गाउँका घरहरुमा आगो लगाइएको थाहा पाउने बित्तिकै प्रहरी घटना स्थलमै खटाइएका छौ । अहिले प्रहरी घटना स्थलमै छ । के कति क्षति भएको छ भन्ने विवरण संकलन भइरहेको छ,’ उनले भने । आगजनीबाट घरमा आंशिक क्षति भएका छन् ।

प्रहरीले विशेष अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीको भनाइ छ । गुठीचौरमा दिनदिनै घटनाहरु बढ्ने क्रममा रहेकाले सुरक्षा चुनौति थपिएको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार १०:३८