सूचनाको शक्ति - The Power Of Information

        

देखिनै छाडे ‘फोटो स्टुडियो’

समयअनुसार मानिसका रहर र बानी परिवर्तन हुन्छन् । समयले रहरलाई पूरा गर्ने तरिका पनि बदलिदिन्छ । विगतमा मानिस ‘स्टुडियो’मा गएर फोटो खिच्न निकै रुचाउँथे । यसका लागि गाउँघरदेखि टाढा सहरमा रहेका स्टुडियोमा जाने, खिचेका फोटा ठूला बनाएर भित्तामा तथा एल्बमा सजाउने गर्थे । आजभोलि प्रविधिको विकाससँगै फोटोप्रतिको मोह पनि बदलिएको छ ।

टीकापुरकी सिर्जना पण्डित चाडपर्व तथा घरमा केही उत्सव हुँदा सम्झनाका लागि स्टुडियोमा गएर फोटो खिचाउथिन् तर अचेल समयले उनलाई बदलेको छ । उनले फोटो स्टुडियो नदेखेको एक दशक पुग्यो । ‘मोबाइल तथा घरमै क्यामरा भित्रिएपछि फोटो खिच्न स्टुडियो जानुपरेन,’ उनले भनिन्, ‘आजभोलि फोटो प्रिन्ट गरेर राख्ने चलन पनि हरायो । पुराना फोटो छन् कहिलेकाहीँ हेरिन्छ, रमाइलो लाग्छ ।’ अर्की महिला टीका चन्दको अनुभव पनि यस्तै छ ।

पहिला स्टुडियोमा फोटो खिच्न जाँदा रकमको जोहो गर्ने, पहिल्यै पूर्वतयारी गर्ने गरेकी टीका पनि आजभोलि स्टुडियो जान्न । ‘पहिलाको फोटोको महत्व छुट्टै हुन्थ्यो । साथीहरुसँग सल्लाह गरेर नयाँ लुगा किनेका बेला, विद्यालयका कार्यक्रममा, कतै पिकनिक जाँदा खिचिन्थ्यो,’ उनले भनिन्, ‘त्यो बेलाका फोटोको महत्व छुट्टै थियो । अहिलेका फोटोको महत्व छैन । सामाजिक सञ्जालमा राख्नका लागि मात्र खिचिन्छ ।’

टीकाले समय समयमा पूराना फोटोका एल्बम छन् हेर्नुहुन्छ, यसरी हेर्दा रमाइलो लाग्ने उनको भनाइ छ । कैलालीकै नीता खड्का भण्डारी पनि विगतमा खुबै रहर गरेर स्टुडियोमा फोटो खिच्न हुन्न् । आजभोलि उनी पासपोर्ट साइजका फोटाका लागि मात्र स्टुडियो गएकी छैन् । ‘त्यो बेला फोटो खिच्न जाने भनेपछि धेरै रमाइलो लाग्थ्यो,’ उनले भनिन्, ‘स्टुडियोमा पालो कुरेर, लाइनमा बसेर फोटो खिचेको अझै याद छ ।’

नीताले विवाहका फोटो, बच्चाहरु साना हुँदाका फोटो पनि सजाएर राखेकी छन् । उनीसँग चार एल्बम अझै छन् । ‘साथीहरुको समूहमा खिचेका एक फोटोबाट दर्जनौँ फोटा बनाउने गरिन्थ्यो,’ उनी भन्छिन्, ‘सबैले एउटै खालका फोटा राख्ने गरिन्थ्यो ।’ आजभोलि मानिसले विगतभन्दा फोटो चाहिँ धेरै खिच्छन्, प्रायः दैनिकजसो खिच्छन् । आफ्नै मोबाइलमा फोटो खिच्छन् । खिचेका फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्छन् ।

यसमा आएका प्रतिक्रिया हेरेर रमाउँछन् । कैलालीकी मीना कुँवरले पनि स्टुडियो नदेखेको धेरै वर्ष भयो । ‘पहिला वर्षमा पाँच–छ पटक स्टुडियो गइन्थ्यो,’ उनी भन्छिन्, ‘अहिले मोबाइलले फोटो खिचे पनि प्रिन्ट गरेर राख्ने चलन हरायो ।’ दुई दशकदेखि टीकापुरस्थित मनकामना फोटो स्टुडियोका सञ्चालक पदम विष्टको अनुभव पनि यस्तै छ । विगतमा स्टुडियोमा मानिसलाई पालो कुराएर फोटो खिच्ने पदमकहाँ आजभोलि फोटो खिच्न निकै कम आउँछन् ।

आउने पनि ‘पासपोर्ट साइज’को फोटोमात्रै खिच्न आउँछन् । फोटो खिचेरै विगतमा स्टुडियो चलाएका पदमले आजभोलि स्टुडियोमा अन्य सेवा पनि दिन थालेका छन् । ‘मैले पनि स्टुडियो खासै नचलेपछि आजभोलि प्रमाणपत्र, मायाको चिनो, फोटो फ्रेम, ब्यानर प्रिन्ट, फोटोकपीजस्ता सेवा दिन थालेको छ,’ उनले भने, ‘सुरुसुरुमा व्यवसाय सुरु गर्दा चाडपर्वका बेला स्टुडियोमा भीड हुन्थ्यो । विभिन्न संस्कृति झल्कने पोसाकमा फोटो खिचाउने आउँथे ।’

स्टुडियो सञ्चालकले थारु समुदाय, मगर समुदाय र नेपाली पोसाकका कपडा र गहना स्टुडियोमै राखेका हुन्थे । यी कपडा र गहना लगाएर फोटो खिचाउने पनि उत्तिकै हुन्थे । एउटा फोटो खिच्न पनि तयारी गरेर, कुरेर खिच्नुपर्दथ्यो । ‘बिग्रिएमा रिल खेर जान्थ्यो, त्यसैले मानिस तयारी गरेर खिच्थे,’ उनी भन्छन्, ‘हामीलाई पनि व्यापार राम्रो भएपछि रमाइलै लाग्थ्यो । आजभोलि स्टुडियोमा फोटो खिच्ने मानिस आएपछि दङ्ग पर्छौं ।’

शिक्षक तारा साउँद सामाजिक सञ्जालको प्रयोगले फोटो खिच्ने र सार्वजनिक गर्ने तरिका बदलिएको बताउँछन् । ‘हरेक कार्यका सकारात्मक र नकारात्मक पक्ष हुन्छन्, विगतमा खिचिने फोटो वर्षौंसम्म स्मृतिमा रहेका छन्,’ उनी भन्छिन्, ‘आजभोलि सामाजिक सञ्जालमा सुरक्षित हुन्छन् । समय र प्रविधिले मानिसलाई बदलेको छ ।’

शिक्षक साउँद सामाजिक सञ्जालमा व्यक्तिगत फोटो, पारिवारिक फोटो सार्वजनिक गर्नुका जोखिम पनि त्यतिकै रहेको बताउँछिन् । ‘मानिसका लुगा कपडा, गरगहना र परिवारको विवरण सामाजिक सञ्जालमा राख्नु त्यति राम्रो होइन,’ उनी भन्छिन्, ‘एकातिर आफैंले फोटो खिच्दा समय र खर्च बचत हुन्छ, अर्कोतर्फ सामाजिक सञ्जालमा राख्दा यसले कहिलेकाहीँ जोखिम पनि हुनसक्छ ।’

स्रोत : रासस
प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार ०९:१७