सूचनाको शक्ति - The Power Of Information

        

एक वर्षमा दुई खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

एक वर्षमा मुलुकमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९–०८० मा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेर दुई खर्ब ८१ अर्ब ७३ करोड २६ लाख रुपियाँ बराबरको २७ लाख ८२ हजार ८३२ किलोलिटर (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र एलपी ग्यास) आयात भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८–०७९ मा तीन खर्ब आठ अर्बको ३१ लाख ८९ हजार ७१६ किलोलिटर आयात भएको थियो । त्यतिबेला रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि दोब्बर रुपियाँको आयात भएको थियो । आर्थिक वर्ष २०७९–०८० मा मुलुकमा देखापरेको आर्थिक सङ्कटका कारण आर्थिक गतिविधि चलायमान नहुँदा पेट्रोलियम पदार्थको आयातमा कमी भएको हो ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले इन्धनको खपत कम हुँदा आयातमा कमी आएको जानकारी दिए । विकास निर्माणका काम कम हुनु, विद्युतीय गाडीको प्रयोग बढ्दै गएको र भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो हुँदा गएको आर्थिक वर्षमा आयातमा कमी भएको उनले जानकारी दिए । हवाई इन्धनको आयात बढे पनि अन्य सबै पेट्रोलियम पदार्थको आयातमा कमी आएको उनले जानकारी दिए ।

निगमका अनुसार गत आर्थिक वर्षमा डिजेल आयात १९.४६ प्रतिशतले घटेर १४ लाख सात हजार १७१ किलोलिटर आयात भएको छ । यस्तै पेट्रोलको आयात ७.७५ प्रतिशतले घटेर छ लाख ७७ हजार ११६ किलोलिटर आयात भएको निगमको तथ्याङ्क छ । मटितेल आयात २४.६१ प्रतिशतले घटेर १३ हजार किलोलिटर आयात भएको छ । यस्तै खाना पकाउने एलपिजी ग्यास भने ५.३४ प्रतिशतले घटेर पाँच लाख १२ हजार १७३ मेट्रिक टन आयात भएको तथ्याङ्क छ ।

हवाई इन्धनको आयात बढ्यो

हवाई इन्धनको आयात भने नौ प्रतिशतले बढेर एक लाख ७३ हजार ३६८ किलोलिटर भएको छ । गएको आर्थिक वर्षमा विमानको नियमित उडान भएपछि हवाई इन्धनको खपत बढेसँगै आयातमा समेत वृद्धि भएको हो ।

इन्धन आयातबाट ९४ अर्ब राजस्व

एक वर्षमा पेट्रोलियम पदार्थ आयात गरेर ९४ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षमा दुई खर्ब ८१ अर्ब ७३ करोड रुपैयाँको २७ लाख २७ लाख ८२ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेर ९३ अर्ब ९४ करोड राजस्व सङ्कलन भएको निगमले जनाएको छ । अघिल्लो वर्ष एक खर्ब २४ अर्ब २५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयात कम हुँदा राजस्व सङ्कलनमा कमी आएको निगमले जनाएको छ । पेट्रोलमा सरकारले भन्सार र प्रज्ञापनपत्र शुल्कबापत २५ रुपैयाँ २३ पैसा सङ्कलन गर्ने गरेको छ । त्यस्तै सडक मर्मतसम्भार शुल्कका नाममा चार रुपैयाँ, प्रदूषण शुल्क एक रुपैयाँ २५ पैसा, पूर्वाधार कर १० रुपैयाँ, मूल्य अभिवृद्धि कर २० रुपैयाँ ७१ पैसा, मूल्य स्थिरीकरण कोष शुल्क एक रुपैयाँ ८० पैसा उठाउने गरेको छ ।

यस्तै डिजलमा भन्सार तथा प्रज्ञापन शुल्क १२ रुपैयाँ सडक मर्मतसम्भार दुई रुपैयाँ, प्रदूषण कर एक रुपैयाँ ५० पैसा, पूर्वाधार कर १० रुपैयाँ, मूल्य अभिवृद्धि कर १८ रुपैयाँ ७५ पैसा र मूल्य स्थिरीकरण कोषमा एक रुपैयाँ ६३ पैसा उठाउने गर्छ । निगमका अनुसार हाल बजारमा मासिक पेट्रोल ५६ हजार ४२६ किलोलिटर, डिजेल एक लाख १७ हजार २६४ किलोलिटर, मटितेल एक हजार ८३ किलोलिटर, हवाई इन्धन १४ हजार ४४७ किलोलिटर र खाना पकाउने एलपी ग्यास ४२ हजार ६८१ मेट्रिक टन खपत हुने गरेको छ ।

निगमका अनुसार आव २०७७–०७८ मा एक खर्ब ५८ अर्ब रुपैयाँ बराबरको २८ लाख ६६ हजार किलोलिटर आयात भएको थियो । यस्तै आर्थिक वर्ष २०७६–०७७ मा एक खर्ब ४५ अर्ब रुपैयाँको २५ लाख ९० हजार किलोलिटर इन्धन आयात भएको थियो । यस्तै आव २०७५–०७६ मा एक खर्ब ९२ अर्ब रुपियाँ बराबरको २९ लाख ३८ हजार किलोलिटर इन्धन आयात भएको थियो ।

स्रोत : गोरखापत्र
प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार ०८:४५