सूचनाको शक्ति - The Power Of Information

        

नेपाल–भारत सीमा जमुनाहा

सीमामा एसएसबीको कडाई, रूपैडिया जान परिचयपत्र अनिवार्य

नागरिकता, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) जस्ता नेपाली भएको परिचयपत्र नदेखाउने नेपाली नागरिकलाई समेत भारत प्रवेशमा रोक लगाइएको छ ।

भारतीय सुरक्षा निकाय सशस्त्र सीमा बल (एसएसबीले) जमुनाह नाका हुँदै भारत प्रवेशमा कडाइ गरेको छ । पाकिस्तानी नागरिक नेपालको बाटो हुँदै भारत प्रवेश गरेपछि एसएसबीले नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरेको हो ।

नेपालीबाहेक तेस्रो मुलुकको नागरिक अवैधरूपमा प्रवेश नगरोस् भनेर सीमा क्षेत्रमा चेकजाँचलाई कडा पारिएको भारतीय एसएसबीले जनाएको छ । भारतको केन्द्र सरकारले नेपाली नागरिकता वा अन्य पहिचानपत्रबिना प्रवेश गर्न नदिन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

सोहीअनुसार एसएसबीले भारत प्रवेश गर्ने नेपालीका लागि नागरिकता वा परिचय खुल्ने कागजात अनिवार्य गरेको छ । नागरिकता, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) जस्ता नेपाली भएको परिचयपत्र नदेखाउने नेपाली नागरिकलाई समेत भारत प्रवेशमा रोक लगाइएको छ । नयाँ प्रावधान अनुसार नेपाली नागरिकले आफूसँग भएको परिचय खुल्ने कागजात लिएर भारत जान थालेका छन् ।

भारतले सीमा सुरक्षा कडाइ पार्दा सीमा क्षेत्रका भिडभाड बढी भएको छ । खासगरी पछिल्लोपटक एकजना पाकिस्तानी महिला नेपालको बाटो हुँदै भारतमा प्रवेश गरेको विषयले भारतमा तरंग पैदा गरेको छ । उक्त प्रकरणपछि नेपाल–भारतको खुला सीमाको फाइदा उठाउँदै तेस्रो मुलुकका नागरिक आफ्नो देशमा प्रवेश गरेको विषयलाई भारतले गम्भररुपमा लिएको छ ।

पाकिस्तानी युवती सीमा गुलाम हैदर र भारतीय युवक सचिन मिणाबीचको प्रेम सम्बन्ध छिमेकी भारतमा चर्चित बनेको छ । आफूहरूबीच इन्टरनेटमा पब्जी खेल्दाखेल्दै प्रेम सम्बन्ध गाँसिएको उनीहरूले बताएका छन् । उनीहरूबीच पहिलो भेट भने नेपालमा भएको थियो । त्यसैले भारत र पाकिस्तानमा चर्चित रहेका ती दुईबीचको प्रेम प्रसंगमा नेपाल पनि जोडिएको छ । नेपाली अधिकारीहरूले सीमा दुईपटक नेपाल आएको पुष्टि गरेका छन् ।

उनीहरूका अनुसार पहिलोपटक सीमाबाट पाकिस्तान फर्किएको र दोस्रोपटक नेपाल भित्रिएको मात्र देखिन्छ । कतिपय भारतीय सुरक्षा मामिला विज्ञहरूले पाकिस्तानी युवती नेपाल हुँदै भिसा (प्रवेषाज्ञा) नलिई भारत पुग्न सफल भएको विषयलाई लिएर सुरक्षा चिन्तासँग समेत जोडेर हेरेको पाइएको छ । भारतीय प्रहरीले उनीहरू दुवैलाई पक्राउ गरेपछि सीमा गुलाम हैदर प्रवेषाज्ञाबिना भारत पुगेको खुलेको हो ।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार ०७:५७