सूचनाको शक्ति - The Power Of Information

        

भारत प्रवेश गर्दा नेपालीलाई अनिवार्य परिचयपत्र

पाकिस्तानी नागरिक सीमा हैदर नेपालको बाटो हुँदै भारत पुगेको खबर फैलिएपछि भारतीय सुरक्षाकर्मीले परिचयत्र नभएका नेपालीलाई भारत प्रवेशमा रोक लगाएका छन् ।

भारतीय केन्द्र सरकारले नेपाली नागरिकता वा अन्य पहिचानपत्रबिना प्रवेश गर्न नदिन सुरक्षा निकायलाई निर्देशन दिएको हो । बहराईच जिल्लासँग जोडिएको बर्दिया र बाँकेको सीमा नाकामा पाकिस्तानी आइएसआईसँग संलग्न मानिस प्रवेश गर्न सक्ने भन्दै परिचयपत्र अनिवार्य गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

चार छोरा, छोरीसहित पाकिस्तानी नागरिक सीमा हैदर दुबई हुँदै काठमाडौं आएकी थिइन् । उनका प्रेमी भारतीय नागरिक सचिनसहित पोखरा हुँदै दिल्ली पुगेपछि सुरक्षा चुनौती बढेको भन्दै नेपाल–भारत सीमामा निगरानी बढाइएको हो ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले नयाँ छुट्टै नियम यहाँ लागू नगरेको तर सीमामा केही कडाई गरेको बताए । उनले यसअघि पनि नेपालीसँग भारतीय सुरक्षाकर्मीले परिचयपत्र माग्दै आएको उल्लेख गरे ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार १८:५५