बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ झिगौला गाउँस्थित मानखोला नदी किनारामा रहेको गाँजाका बोटहरु प्रहरी र स्थानीयवासीको पहलमा नष्ट गरिएको छ । प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा केहि दिनअघि उक्त गाँजा नष्ट गरिएको रनियापुर प्रहरी चौकीले जानकारी दिएको छ ।
विगत लामो समयदेखि त्यहाँ आफैं उम्रिएका गाँजा लागूऔषध दुर्व्यसनको कुलतमा लागेकाले सेवन गर्दै आइरहेको स्थानीयले सूचना दिएपछि उक्त स्थानमा आफै उम्रिएका करिब ३ सय गाँजाका बोट प्रहरी र स्थानीय मिलेर नष्ट गरिएको रनियापुर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक लखनलाल चौधरीले जानकारी दिए ।
उनले गाँजाको झाडीमा बाहिरबाट दुर्व्यसनीहरु आई मादक पदार्थ सेवन गर्ने, त्यही गाँजाको प्रयोग गर्ने तथा होहल्ला गर्ने थलो बनेको भन्ने थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेको बताए ।
“स्वस्फूर्त रुपमा गाँजाका बोटहरु उम्रिएर झाडी बनेको रहेछ, युवाहरु त्यहाँ पुगेर गाँजाको सेवन गर्ने, विस्तारै कुलतमा फस्ने सम्भावना रहन्थ्यो र समाजमा उच्छृङ्खल गतिविधि हुने र विकृति फैलिन सक्ने सम्भावना हुन सक्थ्यो,” चौधरीले भने । गाँजाका बोट नष्ट गरिएिपछि उक्त स्थान अहिले खुल्ला र सफा देखिएको उनले बताए ।
समाजमा विकृति ल्याउनेमध्ये अधिकांश लागूऔषध प्रयोगकर्ता रहेको भन्दै उनले लागूऔषध नियन्त्रण तथा उन्मूलन गर्नका लागि प्रहरी र स्थानीय सँगसँगै मिलेर अगाडि बढिरहेको बताए ।
सत्यपाटी संवाददाता । बाँके