सूचनाको शक्ति - The Power Of Information

        

जनशक्ति अभाव झेल्दै बर्दिया अस्पताल, ‘उपकरण छन्, उपचार छैन’

बाहिरबाट हेर्दा ठुलो भवन सुविधा सम्पन्न छ । बर्दिया अस्पतालको सुविधा सम्पन्न भवनमा अक्सिजनसहितको २५ शैय्या हाई डिपिन्डेन्सी युनिट (एचडियु) र आइसियुको व्यवस्थापन गरिएको छ । २५ शैय्यामध्ये १३ शय्यामा आइसियु सञ्चालन गर्ने गरी संरचना निर्माण गरिएको छ ।

यी सबै सुविधा सम्पन्न भवन र स्वास्थ्य उपकरणसहितको शय्या निर्माणका लागि जिल्लाका विभिन्न पालिका र अस्पताल आफैँले करोडौँ रकम खर्च गरेको छ तर दक्ष जनशक्तिको अभावमा दुई वर्षअघि नै सञ्चालनमा आउनुपर्ने एचडियु र आइसियु सेवा अझैसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

विभिन्न पालिका तथा अस्पतालले ठुलो रकम खर्च गरेर बनाएको स्वास्थ्य उपकरणसहितको सुविधा सम्पन्न पूर्वाधार सञ्चालनमा कहिले आउँछ भन्ने प्रश्नको जवाफ नै छैन बर्दिया अस्पतालसँग । साढे दुई करोडको लगानीमा बनेको अस्पताल भवन र एचडियु तथा आइसियु सेवा दक्ष जनशक्ति अभावले प्रयोगहीन अवस्थामा छन् ।

बर्दिया अस्पतालका प्रमुख वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुवासकुमार पाण्डेले दैनिक सयौँको सङ्ख्यामा उपचार सेवा दिँदै आएको अस्पतालले सधैँ जनशक्ति अभाव झेल्दै आएको बताए । नियमित उपचार सेवा प्रदान गर्न नै जनशक्ति अभाव रहेका बेला एचडियु र आइसियु सञ्चालन गर्न सम्भव नरहेको डा. पाण्डेको भनाइ छ ।

उनले समयानुकूल, जनसङ्ख्याको अनुपात र सेवाग्राहीको सङ्ख्या हेरेर राज्यले दक्ष जनशक्ति व्यवस्थापन गर्न सके मात्र नियमित उपचार सेवाका साथै विशेषज्ञसहितको एचडियु र आइसियु सेवा सञ्चालन गर्न सकिने बताए ।

उनले भने, ‘अस्पतालमा जनशक्ति अभाव भएकाले पूर्णरूपमा एचडियु र आइसियु कक्ष सञ्चालन गर्न नसके पनि बिरामीको सङ्ख्या बढी हुँदा सो कक्षबाट पनि उपचार सेवा दिँदै आएका छौँ । विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्सिङलगायतका महत्वपूर्ण जनशक्ति उपलब्ध भए नियमित रूपमा एचडियु, आइसियु सेवा सञ्चालन हुन्छ ।’

अस्पताल व्यवस्थापक अधिकृत मोविन बोहराले प्रयोगहीन रहेका उपकरण र पूर्वाधार सञ्चालनका लागि तालुकदार मन्त्रालयसँग अनुरोध गरेको जानकारी दिए । उनले एचडियु र आइसियु सेवा सञ्चालन हुन सके बिरामीलाई सहज हुने दाबी गरे ।

सेवाग्राही बढ्दै, जनशक्ति घट्दै

अस्पतालको तथ्याङ्क अनुसार सेवाग्राहीको चाप बढ्दो छ । आर्थिक वर्ष २०७७–०७८ मा ४५ हजार ९०० जनाले उपचार सेवा लिएका थिए । आव २०७८–०७९ मा एक लाख सात हजार ४७८ जना र आव २०७९–०८० मा एक लाख १५ हजार ७१८ जनाले उपचार सेवा लिएका छन् ।

पचास शैय्याको बर्दिया अस्पतालमा ५९ जना जनशक्तिको दरबन्दी रहेको छ, तर अहिले अस्पतालमा २३ जना मात्र कार्यरत छन् । डा.पाण्डेका अनुसार अस्पतालमा थप सेवा प्रदान गर्न १५–२० जना मेडिकल अधिकृत र ४० जना नर्सिङ स्टाफ आवश्यक रहेको छ । अस्पतालले ओपिडी, इमरजेन्सी, सर्जिकल ओपिडी–इन्डोस्कोपी सेवा, प्रसूति तथा स्त्रीरोग, फिजियोथेरापी लगायतका सेवा प्रदान गर्दै आएको छ ।

बर्दिया अस्पतालका सूचना अधिकारी द्रोणविक्रम पन्थीले अस्पताल विकास समितिले ६०–७० जना जनशक्ति व्यवस्थापन गरेको भए पनि अस्पतालमा अझै जनशक्तिको अभाव रहेको बताए । उनले जनशक्ति थप गर्न अस्पतालको स्रोतले नपुग्ने हुँदा प्रदेश वा स्थानीय तहले जनशक्ति व्यवस्थापन गरिदिए सेवा सञ्चालन गर्न सहज हुने बताए ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार १५:४३