जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९–०८० मा दुई करोड ६२ लाख राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने ४३ हजार ८३८ सवारीसाधनका चालकलाई कारबाही गरी सो रकम असुल गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक तिलक सुनारका अनुसार ट्राफिक प्रहरीले चालकका लागि चेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । ‘जरिवाना मात्रै गर्दैनौँ, चालकबाट नियम उल्लंघन नहोस् भनेर चेतनामूलक अभियानसमेत सञ्चालन गर्दै आएका छौँ,’ उनले भने ।
गत आवमा कार्यालयले ७७३ वटा सचेतना कक्षा सञ्चालन गरेको थियो । कक्षामा ३४ हजारभन्दा बढी सवारीचालक, यात्रु र विद्यार्थी सहभागी भएको प्रहरी निरीक्षक सुनारले बताए । यस्तै आव २०७९–०८० मा जिल्लामा १२४ सवारीसाधन दुर्घटनामा परेका थिए ।
दुर्घटनामा परी ६० जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा १२९ जना घाइते भएका थिए । सडक दुर्घटनामा परी १० पशुचौपायासमेत मरेका प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आवमा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने दुई हजार ८५५ चालकलाई कारबाही गरेको थियो । उनीहरुबाट २८ लाख ५५ हजार राजस्व संकलन गरिएको थियो ।
सत्यपाटी संवाददाता । बाँके