सूचनाको शक्ति - The Power Of Information

        

ललिता निवास प्रकरण : व्यापारीहरू सिआइबीको निगरानीमा

ललिता निवास परिसरको जग्गा हिनामिना सम्बन्धी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धानलाई तिव्रता दिइरहँदा यसमा संलग्न केही व्यक्तिहरू धमाधम फरार हुन थालेका छन् । केही व्यक्तिहरु भने आफ्ना निकटस्थहरुलाई जोगाउने खेलमा छन् । खासगरी व्यापारीहरूलाई मुद्दा दायर गर्नबाट रोक्न एक समूह सक्रिय देखिएको छ ।

जग्गा किनेकै आधारमा आइतबार केशव तुलाधर पक्राउ परेपछि यसमा व्यापारीहरू पनि मुद्दाको भागिदार हुने संकेत देखिएको छ । ललिता निवास परिसरको करिब दुई रोपनी जग्गा किनेको आधारमा तुलाधरलाई सिआइबीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थीसम्बन्धि मुद्दामा धरौटीमा छुटेलगत्तै सिआइबीले उनलाई पक्राउ गरेको हो ।

यो प्रकरणमा जग्गा किन्ने बाहेक उनको अन्य संलग्नता देखिएको छैन । जग्गा किनेकै आधारमा पक्राउ गरेपछि यो मुद्दामा जग्गा किन्नेहरू सबै प्रहरी छानबिनमा रहेको संकेत गर्दछ । संगठित अपराध सम्बन्धी कसुर भएकाले यसमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा जोडिएका सबै अनुसन्धानको दायरामा आउने सिआइबीका एक अधिकारी बताउँछन् ।

यो प्रकरणमा केही प्रभावशाली व्यापारीसमेत छन् । यसमा प्रभावशाली व्यवसायी मिनबहादुर गुरुङ पक्राउ परिसकेका छन् । चर्चित व्यापारी गोविन्दलाल संघाईले पनि त्यहाँको जग्गा किनेका छन् । त्यस्तै मनोजकुमार केडिया, सञ्जयकुमार चाचन, प्रमोश शेरचन, प्रमोद गुरुङ लगायत मुछिएपछि व्यापारीहरू जग्गा किन्नेलाई मुद्दा नचलाउने लबिइङमा लागेका छन् ।

धेरै व्यवसायीले श्रीमतीको नाममा त्यहाँको जग्गा किनेका थिए । विवादास्पद जग्गा भएकाले कतिपयले सस्तोमा खरिद गरेको स्रोत बताउँछ । सो जग्गा हाल मन्ति गोर्खाली, निर्मलादेवी गोयल, निकिता तुलाधर, उमा प्रसाई, युरिशोभा तुलाधर, रेणुका बज्राचार्य, सुविस्ता तुलाधर, अञ्जना तुलाधर, चन्द्रिका कंसाकार, सानुछोरी बज्राचार्य लगायतको नाममा छ ।

त्यसैगरी सिपीका खेतान, सुष्मा बज्राचार्य, सन्ध्या शाक्य, संगिता राखेचा, नुतन श्रेष्ठ, धर्मशोभा शाक्य, डिम्पल बंशल, सरिता मानन्धर श्रेष्ठ, गीता गौतम खनाल, नितु गुरुङ, रीता गौतम खनाल, रत्नहिरा बज्राचार्य, प्रविण ताम्राकार, विजय ताम्राकार, माया शेर्पा गौचन पनि जग्गा किनेकै आधारमा छानबिनमा छन् ।

त्यस्तै, महेशराज तुलाधर, द्वारिकादेवी श्रेष्ठ, इन्द्रदेव गुरुङ, इन्दु शर्मा, संदीप ढकाल, भवानी जोशी, भारती पाण्डे, विवेक कुमार सुवेदी, केशव तुलाधर, अनिता देवी कंसाकार, वीरमान ताम्राकार, अनलिमान ताम्राकार, गायत्री श्रेष्ठको नाममा पनि जग्गा देखिएको छ । पञ्च नारायण महर्जन, राधा सिग्देल, मचाबाबु प्रजापति, रुपेसकुमार सुवेदी, सरोज ढकाल, पहलमान गुरुङ पनि जग्गाधनीका रुपमा सिआइबी छानबिनमा छन् ।

त्यस्तै पुरुषोत्तम पौडेल, च्युतराज श्रेष्ठ, विजेन्द्र जोशी र द्रीलक्ष्मी श्रेष्ठ पनि जग्गाधनीका रुपमा सिआइबी छानबिनमा छन् । यस बाहेक बीचमा जग्गा किनेर बेच्ने सर्वाेच्च अदालतका न्यायाधीश कुमार रेग्मी, विष्णु पौडेलका छोरा नवीन पौडेल लगायत पनि छानबिनमा पर्ने जोखिम छ । सिआइबीले यो मुद्दामा बहालवाला सचिवसम्मलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । हालसम्म १९ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार ०८:३२