सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीमा गुटबन्दी, हेडक्वार्टरमा एआइजीको टक्कर

एआइजी सन्दीप भण्डारी र दीपक थापा

आइतबार बिहान गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी महानिरीक्षक, अवकाशप्राप्त महानिरीक्षक र अवकाशप्राप्त अतिरिक्त महानिरीक्षकहरुलाई छलफलका लागि गृह मन्त्रालयमा बोलाएका थिए । सुरक्षा निकायलाई कसरी बलियो बनाउन सकिन्छ भनेर सुझाव लिन उनले अवकाशप्राप्त उच्च अधिकारीलाई मन्त्रालयमा बोलाएका हुन् ।

सबैको सुझाव सुनेपछि मन्त्री श्रेष्ठले मन्तव्य राख्दै प्रहरी संगठनभित्र गुटबन्दी रहेको कुरा लुकाएनन् । उनले भने, ‘प्रहरीजस्तो फौजी संगठनभित्र गुटबन्दी हुँदा यसले सिंगो संगठनलाई असर गरेको छ, गुटबन्दी अन्त्य हुनसक्यो भने मात्र राजनीतिक नेतृत्वको अनियमितता, आर्थिक चलखेल र शक्तिकेन्द्रको दबाबविरुद्ध तथा ऐन र नियमको परिधिभित्र एउटा गतिका साथ काम गर्न सकिन्छ । त्यसकारण गुटबन्दी अन्त्य गर्न म लागिरहेको छु ।’

गृहमन्त्रीले नै यसरी प्रहरी संगठनभित्र गुटबन्दी रहेको बताएपछि पूर्वप्रहरी अधिकारीले पनि अनौठो माने । वास्तवमै प्रहरी संगठनभित्रको गुटबन्दीको रोग थाहा पाएरै उनले यस्तो बताएका हुन् । गृहमन्त्री श्रेष्ठ जसरी पनि ३० वर्षे सेवाहद हटाउने अभियानमा लागेका छन् । तर, त्यसविरुद्ध केही प्रहरी अधिकारी गुट बनाएर लागेको सूचना उनले पाएका छन् । सेवाहद हटाउँदा नेतृत्व तहमा नपुग्नेहरू यसरी सेवाहद राख्ने पक्षमा शक्तिकेन्द्र धाइरहेका छन् ।

त्यस्तै, प्रहरी प्रधान कार्यालयभित्रै पनि गुटबन्दी देखिन थालेको छ । खासगरी एआइजीहरूबीच यस्तो गुटबन्दी रहेको स्रोत बताउँछ । एआइजी दीपक थापा र सन्दीप भण्डारीबीच संघर्ष बढेको चर्चा प्रहरी प्रधान कार्यालयमा छ । एआइजी भण्डारीको हालका गृहमन्त्रीनिकट समूहसँग निकटता छ । सोहीकारण पछिल्लो समय सरुवा–बढुवामा उनको हालीमुहाली छ ।

डिएसपी बढुवामा उनले आर्थिक चलखेल नै गरेको आरोप लागेपछि छानबिनको मागसमेत उठेको थियो । तर, गृह मन्त्रालयले चासो दिएन । थप सरुवा–बढुवामा पनि उनले गृहमन्त्रीका दाइ मानकाजी श्रेष्ठ लगायतसँग मिलेर चलखेल गरिरहेका छन् । उता, थापा विगत केही वर्षदेखि नै छायाँ आइजिपीका रुपमा चिनिन्छन् । प्रहरीमा उनी लामो समय आर्थिक प्रशासन तथा प्रबन्धमा काम गरे । सर्वेन्द्र खनालको पालादेखि नै उनी आइजिपीको खासमान्छे भएर हेडक्वार्टर चलाउँदै आएका छन् । अहिले पनि प्रशासन विभागको प्रमुख छन् ।

थापाविरुद्ध गृहमन्त्री निकटलाई कुरा लगाएर उनलाई कमजोर बनाउने रणनीतिमा भण्डारी लागेको एक उच्च प्रहरी अधिकारी बताउँछन् । त्यसो त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र एआइजी श्याम ज्ञवालीबीचको विवाद पनि बाहिर आइसकेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा विवाद सतहमा आएको थियो । तर, गत २२ असारमा प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा दुवै जना हाँसीहाँसी कुम जोडेर बसेका थिए ।

उनीहरुबीचको टकराव हाल मत्थर भएको छ भने अन्य एआइजीबीच संघर्ष देखिएको छ । एआइजी दीपक थापा अहिलैकै प्रावधानअनुसार कुँवरपछि आइजिपी हुने सम्भावना छ । त्यसकारण पनि उनीविरुद्ध प्रहरीमा अर्काे समूह सक्रिय छ । एआइजी थापालाई भावी नेतृत्वमा अर्का एआइजी सुदीप गिरीले पनि टक्कर दिने सम्भावना छ । प्रहरीमा डिएसपी तहदेखि नै गुटबन्दीको विकृति छ । गृहमन्त्री श्रेष्ठले यसलाई हटाउने घोषणा गरेका छन् । त्यसको कार्यान्वयन पक्ष कस्तो हुन्छ भन्ने कुरा केही समयपछि देखिने छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार ०८:२८