सूचनाको शक्ति - The Power Of Information

        

सुनकाण्डले विमानस्थलमा भागाभाग, भन्सार र प्रहरी प्रमुख बिदामा

बुधबार दिउँसो विमानस्थलको भन्सार जाँचपास भइसकेर विमानस्थलबाट बाहिरिने क्रममा एउटा ट्याक्सी राजश्व अनुसन्धान विभागको टोलीले नियंत्रणमा लियो । मोटरसाइकल तथा स्कुटरको ब्रेक प्याडमा सुन लुकाएर ल्याएको गोप्य सूचनाका आधारमा गएको विभागको टोलीले ३२० वटा ब्रेकप्याडमा लुकाएर ल्याएको सुन बरामद गर्यो ।

हङकङबाट आएको क्याथे प्यासिफिक एयरलाइन्सको जहाजमा कार्गो गरेर सुन ल्याइएको थियो । करिब एक क्विन्टल सुन पाँच दिनसम्म विमानस्थल भन्सारमै राखेर बुधबार निकालिएको थियो । हङकङसहित विभिन्न रुटबाट भित्रिएको अवैध सुन अझै विमानस्थलमा होल्डमा रहेको सूचना पाएपछि विभागको टोली अपरेसनमा निस्किएको थियो ।

विमानस्थल भन्सार गेटबाट सुन बोकेको बा. २ ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिएपछि भेटिएको सुन रेडी ट्रेड प्रालिको नाममा आएको र ३२० पिस ब्रेक प्याडमा लुकाएको पाइएको थियो । विभागले पक्राउ परेका आरोपीहरुको बयानका आधारमा थप अनुसन्धान अघि बढाएको छ । उसले हालसम्म १० जनालाई नियन्त्रणमा लिएको छ ।

पहिलो चरणमा संलग्नता देखिएकाहरुलाई नियन्त्रणमा लिएर प्रराम्भिक अनुसन्धान गरिरहेको छ । विभागको टोलीले ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र कुमार राई, हर्कराज राई, रामकुमार भुजेल, दिलिप भुजेल र भारतीय नागरिक थुप्तेन छिरिङलाई पक्राउ गरेको छ । सावधानीका साथ अनुसन्धान गरिरहेको टोलीले चीन भाग्न लागेका एकजना चिनियाँ नागरिकलाई पनि विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।

सुन तस्करीमा संलग्नता देखिएपछि चिनियाँ नागरिक लिङ चुवान पक्राउ परेका हुन् । उनी तिब्बत एयरबाट चीन भाग्न लागेको अवस्थामा प्रहरीले विमानस्थलमा रोकेको थियो । पक्राउ परेका व्यक्तिहरुले सुन व्यवसायी दीपक मल्होत्राको भनेर पोलेका छन् । बरामद भएको अवैध सुनको गुणस्तर नापजाँच गर्न बबरमहलस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखा पठाइएको छ ।

ब्रेक शुसहितको आठ बट्टाको तौल १५५ किलो भएको पाइएको छ । अब राजश्व अनुसन्धान विभगका महानिर्देशकले अनुसन्धान अधिकृत तोकेर राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ अनुसार विस्तृत अनुसन्धान गर्नेछ । नेपालको इतिहासमा हालसम्मकै ठूलो परिमाणमा सुन राजस्व अनुसन्धान विभागले बरामद गर्दा विमानस्थल भन्सार कार्यालय र विमानस्थल सुरक्षा कार्यालयका प्रमुख बिदामा रहेको पाइएको छ ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख सहसचिव अरुण पोखरेलले असार १७ गतेदेखि दुई महिना लामो बिदा लिएका छन् । विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआइजी अर्जुन चन्द ठकुरीले पनि मंगलबारदेखि एकसाता लामो बिदा लिएको पाइएको छ । यति ठूलो काण्डको पृष्ठभूमि तयार भइरहेका बेला विमानस्थलका भन्सार र प्रहरी प्रमुखको किन भागाभाग चल्यो भन्ने झन् शंकास्पद छ । यसले घटनालाई झनै रहस्यमय बनाएको छ ।

यस घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास भएर कसरी निस्कियो भन्नेबारे छानबिन गर्न भन्सार विभाग अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा समिति गठन भएको छ । समितिले भन्सार अधिकृत लगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गरेर पाँच दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । अवैध सुन प्रकरणमा संलग्नता रहेको शंकाको घेरामा तानिएका अधिकृत सन्तोष चन्द र नायब सुब्बासहित तीन जनालाई भन्सार विभागले निलम्बनको तयारी गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार ०८:२१