सूचनाको शक्ति - The Power Of Information

        

किन हुँदैछ लोडसेडिङ ?

नेपाल विद्युत् प्राधिकरणले भोलि शनिबार बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत् प्रभावित हुने बताएको छ । प्राधिकरणले टेकु सबस्टेसन स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने काम भइरहेको जनाएको छ ।

प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकु सबस्टेसनको विद्यमान इनकमर–१ प्यानल तथा दुईमध्ये एक पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको विभिन्न फिडरहरूमा विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणको भनाइमा बाग्मती फिडरअन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती, सानेपा मोड र रेडिएण्ड स्कुल क्षेत्रमा विद्युत् प्रभावित हुनेछ । पुल्चोक फिडर अन्तर्गतका बल्खु, झम्सीखेल, पुल्चोक र ठाडोढुंगा क्षेत्रमा विद्युत् प्रभावित हुनेछ ।

चमती फिडरअन्तर्गतका ज्ञान तीर्थमार्ग कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल र बारूदखाना क्षेत्र, कीर्तिपुर फिडरअन्तर्गतका बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय, चोभार, टौदह र ट्यांलाफाँटका केही क्षेत्रमा विद्युत् प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

त्यसैगरी त्रिपुरेश्वर फिडर अन्तर्गतका टेकुदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती, वर्ल्ड ट्रेड सेन्टर तथा थापाथली स्विचिङ अन्तर्गतका टेकुदेखि त्रिपुरेश्वर चोकसम्म, आशा अस्पताल, वर्ल्ड ट्रेड सेन्टर, रंगशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सेनपा, कुपन्डोल, स्थानीय विकास मन्त्रालय र पुल्चोक क्याम्पसम्म विद्युत् प्रभावित हुनेछ ।

प्राधिकरणका अनुसार भैँसेपाटी फिडर अन्तर्गत महतोमार्ग, भैँसेपाटी आवास, भैँसेपाटी चोक र एकलडाँडा तथा क्षेत्रपाटी फिडर अन्तर्गतका टेकुदेखि विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क र ढल्कु चोकदेखि क्षेत्रपाटीसम्म विद्युत् अवरूद्ध हुनेछ ।

प्राधिकरणले ती क्षेत्रहरूमा वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत् आपूर्तिको प्रयास गरिने र निर्धारित समयअघि काम सकिए लाइन सुचारु गर्ने जानकारी गराएको छ ।

प्राधिकरणको सार्वजनिक सूचना यस्तो छ :

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार ०८:१७