हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । आज गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यतिबेला गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना छ ।
सत्यपाटी संवाददाता । काठमाडौं